सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र महिला आत्मनिर्भरता केन्द्रको आयोजनामा तीन दिने “लैङ्गिक समानता र सामाजिक समावेशीकरण” सम्बन्धी तालिम सुरु भएको छ ।

बिहीबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा तालिमको शुभारम्भ गर्नुभएको हो ।

१४ गतेदेखि १६ गतेसम्म चल्ने सो तालिममा मेलम्ची नगरपालिका वडा नम्बर ९ का विभिन्न क्षेत्रका २५ जना भन्दा बढी सहभागी रहेका छन् । तालिमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङले समाजमा रहेका आम मानिसहरूलाई समान ढङ्गले हेरिनुपर्ने बताउनुभयो ।

उहाँले समानता,समावेशीकरण र जातीय विभेदले गर्दा हुने विभेद हेपाइ कम गर्न सो तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरा समाजमा फैलाउन सबै सहभागीलाई आग्रहसमेत गर्नुभयो । “सासू बुहारी आमा छोरीबीच हुने विभेद झैँ झगडालाई न्यूनीकरण गर्न यहाँहरूले पक्कै पनि भूमिका खेल्नुहुनेछ”,नगर प्रमुख तामाङले भन्नुभयो ।

प्रमुख तामाङले लैङ्गिक समानता समावेशीकरणका तालिमका लागि नगर सधैँ अग्र भागमा रहेर सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै वडा नम्बर ९ का वडा अध्यक्ष किरण दीप खड्काले सबैले सबैको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सबैको सम्मानले मात्रै समानता हुने विचार व्यक्त गर्नुभयो ।

महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष संचमाया स्याङबो, फेयरमेडका सिनियर प्रोजेक्ट अफिसर , बिबेचना सापकोटा , केन्द्रकी पूर्व अध्यक्ष डोल्मा तामाङको समेत उपस्थिति रहेको सो तालिममा आयोजक संस्थाका परियोजना संयोजक मनीषा हाडा प्रशिक्षक हुनुहुन्छ ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी पधाधिकारी हरुलाई सचेतनाका लागि तालिम आयोजना गरिएको हाडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय