सिन्धुपाल्चोक । समृद्धिको लागि सङ्कल्प यात्रामा निस्किएको नेकपा एमालेको टोली मङ्सिर २४ गते सिन्धुपाल्चोक आइपुग्ने भएको छ । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारा सहित सुरु भएको नेकपा एमालेको १९ दिने कार्यक्रमको क्रममा सिन्धुपाल्चोक र काभ्रे जिल्लाको सीमा क्षेत्रमा संयुक्त बृहत् सभा आयोजना हुने भएको हो ।

२४ गते मेलम्ची नगरपालिकाको बाहुनेपाटी, सिन्धु काभ्रे सीमा क्षेत्रको सिपाघाट तथा काभ्रे मण्डन देउपुर नगरपालिकाको कुन्तावेसीमा यात्रामा रहेका पार्टी नेतृत्वलाई स्वागतको कार्यक्रम रहेको नेकपा एमाले मेलम्ची नगर कमिटीका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सोही दिन बृहत् सभाको समेत आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा समृद्धिको लागि सङ्कल्प यात्राको टोलीलाई २५ गते बलेफी गाउँपालिकाले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

२५ गते बिहान खाडीचौरमा स्वागत तथा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बलेफी गाउँपालिका कमिटी अध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  

एमाले अध्यक्ष ओली लगायतका नेताहरूलाई स्वागत तथा सो अवसरमा आयोजना गर्न लागिएको बृहत् सभाको चरणबद्ध रुपमा तयारीमा सिङ्गो जिल्ला पाटी लागिपरेको एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी एमाले  केन्द्रीय  कमिटीद्वारा आयोजित कम्युनिस्ट पार्टी ७५ वर्ष पूरा भएको अवसरमा  झुलाघाट चिवा भञ्ज्याङ् मध्यपहाडी लोकमार्ग पदयात्राको सन्दर्भमा  मङ्सिर  २४ र २५ गते अध्यक्ष   केपी शर्मा ओली  सहितको टिमसँग  बाहुनेपाटी र खाडीचौरमा हुने सभा,साक्षात्कार तथा भेटघाट कार्यक्रमको तयारीमा पालिका तहमा नै योजना निर्माण भएको एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

एमाले सिन्धुपाल्चोकको तयारीअनुसार  बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, जुगल गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसङ्खुपाखर गाउँपालिका, भोटेकोसी गाउँपालिका एवम् चौतारा साँगाचोकगढी नगरपालिकाको २५ गते अध्यक्ष ओलीको सम्बोधन तथा साक्षात्कार कार्यक्रम रहेको खाडीचौरमा केन्द्रित हुनेछ भने मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, पाँचपोखरी  गाउँपालिका र हेलम्बु गाउँपालिकाको भने २४ गतेको सभामा केन्द्रित रहने भएको छ ।  

नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोक मार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि सङ्कल्प यात्रा सुरु गरेको हो। यात्राका क्रममा मध्यपहाडको अवस्था र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय