सिन्धुपाल्चोक । अन्य पालिका झैँ भोटेकोसी गाउँपालिकाले पनि आइतबार गाउँ सभाको आयोजना गरेको थियो । सभाको प्रमुख अतिथिका रुपमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत थिए । उनीसँगै बागमती प्रदेशको मन्त्री मसिना खड्का पनि विशेष अतिथिका रुपमा सहभागी थिइन् ।

जब वक्ताहरूले बोल्ने पालो आयो त्यसपछि काँग्रेस भित्रको आन्तरिक किचलो गजबले देखियो । नेपाली काँग्रेसका भोटेकोसी पालिका अध्यक्ष देविहादुर बुढाथोकीले पालिका अध्यक्ष पासागर्नाेर्वू शेर्पालाई मुखै छाडेर गाली गरे । विकासका काम नगरेको मनखुशी बजेट बाँडेर कमिसन आएको भन्दै बुढाथोकीले अध्यक्ष शेर्पाको सातो खाए ।

जिल्ला उद्घाटन कार्यक्रममा बोल्न नदिएको रिस पनि फेर्दै बुढाथोकीले आफ्नै पार्टीका अध्यक्षलाई भ्रष्टसम्म भन्न भ्याए । अरूले दिएको बजेट बाढ्ने हुती पनि नभएको अध्यक्ष भन्दै शेर्पालाई मुख छाडे । त्यसपछि नेपाली काँग्रेस जिल्ला उपसभापति दोर्जे लामाले प्रदेश मन्त्री मसिना खड्काको सातो खाए । पैसाको भरमा पद लिएर जनताको काम नगर्ने यस्ता जनप्रतिनिधिको कामै नभएको दोर्जे लामाको भनाई थियो । प्रदेशसभाको निर्वाचनमा टिकटको प्रमुख दाबेदार रहेका दोर्जे लामा मसिना खड्काले टिकट पाएर मन्त्री हुनुमा पैसाको कारण रहेको भन्दै बाहिर फलाकी रहेका थिए ।

मन्त्री खड्का भने पार्टीको गाउँ अध्यक्षलाई विकासको कामको लिस्ट मागेको तर, नदिएको भन्दै पन्छिरहेकी थिइन् । एक कर्मचारीका अनुसार मन्त्री खड्कालाई झन्डै हात हालिएको थियो । 

यी दृश्य हेर्दै सुन्दै बसेका प्रमुख अतिथि मोहनबहादुर बस्नेत भने छिटो छिटो भाषण गर्दै हिँडेका थिए । काँग्रेसभित्रकै किचलोले भोटेकोसीमा विकासका रकम पनि नाचगान र कमिसनका काममा धेरै खर्च हुने गरेको एक कर्मचारी बताउँछन् ।


ल्होसार कार्यक्रममा समेत गाउँपालिको लाखौँ रकम खर्च गरेर काठामाडौं बाट महँगा कलाकार लगेर कार्यक्रम गरिएको ती कर्मचारीको भनाई छ । नीति, विधि र पद्धतिका बारेमा कुनै जानकारी नभएका अध्यक्ष शेर्पा कमिसनका काममा मात्र अघि बढ्ने गरेको ती कर्मचारीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय