​​​​​​​सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले मनोमानी ढङ्गले गाउँपालिकाभरका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गाउँपालिकाको सबै विद्यालयमा गाउँपालिका अध्यक्ष  गङ्गाबहादुर तामाङले आफ्ना कार्यकर्ता भर्ती गर्नुभएको हो। शिक्षा नियम ऐन विपरीत गाउँपालिका अध्यक्ष तामाङले सोझै चिठी काटेर समितिको अध्यक्ष बनाउनुभएको हो ।

यस कार्यप्रति घोर भर्त्सना गर्दै नेकपा (एमाले) बलेफी गाउँ कमिटीले गाउँपालिका अध्यक्ष गङ्गाबहादुरसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । बलेफी गाउँपालिकाले गएको निर्वाचनदेखि नै नीति विपरीत स्वेच्छाचारी ढङ्गबाट मनोमानी गरेको एमालेकाे आरोप छ । 

नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर स्थानीय सरकारले आफ्ना ऐन,नियम तथा कार्यविधि र निर्देशिका तयार गरी स्थानीय सरकार सञ्चालन गर्नुपर्नेमा गाउँपालिकाले मनोमानी गरेको एमालेले जनाएको छ । 

आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि पछिल्लो संशोधनको परिच्छेद ४ को दफा २१ (१) को व्यवस्था उल्लेख गर्दै गरिएको मनोनीत नीति विपरीत रहेको एमालेको ठहर छ । 

गाउँपालिकाको मनोमानीले बलेफी गाउँपालिकाको नीति विपरीतका कामप्रति एमाले मात्र नभई पूरै बलेफीवासीमा निराशा छाएको एमालेले जनाएको छ ।  

‘जिम्मेवार निकाय यस्ता नीति विपरीत, स्वेच्छाचारी तथा मनोमानी ढङ्गबाट सञ्चालन हुनु दुःखद मात्र नभई लोकतन्त्रको उपहास पनि हो । अतः यो र यस्ता विषयमा भए गरेका अवैध निर्णय तत्काल फिर्ता लिई कार्यान्वयन नगर्न /नगराउन नेकपा (एमाले) माग गर्दछ । विकास, सुशासन र समृद्धिमा हाम्रो पार्टी सदैव लाग्ने नीति अनुरूप नीति विपरीतका निर्णय नसच्चिए आन्दोलनका कार्यक्रममा लाग्ने छ’,ध्यानाकर्षण पत्रमा भनिएको छ । 

ज्ञापन पत्र बुझाउँदै नेकपा एमाले जिल्ला कमिटी सदस्य चरी बहादुर तामाङले नेकपा एमालेको ध्यानाकर्षणप्रति बेवास्ता गरेमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले बलेफी गाउँपालिकाको मनोमानीलाई आम जनताले नजिकबाट नियालेर छानबिन गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय