सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं.८ स्थित ताप्रसा भूमिथान सामुदायिक भवनको आज शिलान्यास भएको छ । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गर्नुभएको हो । भवन  निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सामुदायिक भवन निर्माणका लागि स्थानीय पेमा लामाले १४ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो । 

एक तलाको यो भवनमा ६ वटा कोठा र शौचालय बन्ने छ ।नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो भवनका लागि नगरपालिकाबाट १० लाख र स्थानीय श्रमदान १ लाख ११ हजार २८१ गरी जम्मा  ११ लाख ११ हजार २८१ बजेट रहेको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिनुभयो । अहिले उक्त रकमबाट भवन निर्माण सुरु गरिने र अपुग बजेट आगामी आर्थिक वर्षमा विनियोजन गरी सम्पन्न गरिने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।

सामुदायिक भवन बनेपछि स्थानीयको  विभिन्न समस्याहरूका बेला बस्ने बैठक, भेला तथा विभिन्न कार्यक्रम गर्न सहज हुने वडा अध्यक्ष जीत बहादुर तामाङले बताउनुभयो । ‘वडा भित्र रहेका गाउँ, टोल, बस्ती मिलाएर यस आर्थिक वर्षमा ६ वटा सामुदायिक भवनहरू बनाउँदै छौँ’,वडा अध्यक्ष तामाङले भन्नुभयो । यसैबिच आजै वडाभित्र सञ्चालित अन्य योजनाहरूको अनुगमन समेत छ ।

नगर प्रमुख,वडा अध्यक्ष,वडा सदस्य, सञ्चारकर्मीलगायतको सहभागितामा वडाभित्र सञ्चालित विकास निर्माणका अन्य गतिविधिको अनुगमन  गरिएको हो। निर्माणाधीन वडा कार्यालय, सामुदायिक भवन लगायतका योजनाहरूको अनुगमन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय