सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले बिहीबार नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औं गाउँ सभा मार्फत बजेट पारित गरेसँगै पालिका बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ ।

गाउँपालिकाले खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभामा उपस्थित प्रमुख अतिथी संघीय सांसद माधव सापकोटा सुबोधले पालिकाले समयमै सहमतीमा नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुसी व्यक्त गरे । संघीय संसदमा हुने बजेट निर्माण र छलफलको अभ्यासको जानकारी गराउँदै उनले स्थानीय सरकारको कामको प्रशंसा गरे । उनले नमुना वडा निर्माण, कृषिलाई प्राथमिकता लगायतका विषयले स्थानीय किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गाउँ सभाका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गंगा तामाङले गाउँ सभामा उपस्थित भएर संघीय सांसदले हौसला बढाएकोमा खुसी व्यक्त गरे । गत वर्ष गाउँ कार्यपालिकामा सहमती जुट्न नसक्दा नीति, कार्यक्रम तथा बजेटमा भएको ढिलाईबाट पाठ सिकेका अध्यक्ष तामाङले यस पटक समयमै गाउँ सभाको तयारी गरेका थिए । सोही अनुसार गाउँ कार्यपालिका सदस्यहरुबाट सहयोग भएकोमा उनले धन्यवाद दिए ।

गाउँपालिका उपाध्यक्ष सरु तामाङले आगामी बर्षका लागि समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताइन् । गत बर्ष बजेट ल्याउन भएको ढिलाइका कारण लिजामा कम अंक आएपछि समयमै कार्यक्रम गर्न पालिकाको सिंगो टिमले तयारी गरेको थियो । गाउँ सभामा प्रतिवद्धता जनाउन उपस्थित आठ वटै वडाका वडा अध्यक्षले पहिलो वर्षको सिकाइबाट समयमै बजेट ल्याउन लागि परेको बताए । लिजामा कम अंक आएपछि समयमै लागेको वडा नं १ का अध्यक्ष हुप बहादुर खड्काले बताए । समयमै काम गर्न अग्रसर बनेका वडा नं। २ का छविलाल न्यौपानेले सहमतीमा जोड दिए । वडा नं ४ का अध्यक्ष सुर्य तामाङले कृषि क्षेत्रमा बजेटले ध्यान दिनु पर्नेमा जोड दिए । वडा नं ६ का अध्यक्ष तेज बहादुर पराजुलीले समयमै पालिकाले काम गर्न पाएकोमा खुसी व्यक्त गरे । वडा नं ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठले आफ्नै भेषभुषामा उपस्थित भएर स्थानीय सरकारको महत्व झल्काएका थिए ।

गत महिना प्रमुख प्रशासकीय अधिकृतको भूमिका सम्हालेका सल बहादुर पाण्डेले गरेको समन्वयात्मक कामले समयमै नीति कार्यक्रम र बजेट ल्याउन सफल भएको भन्दै उनको प्रशंसा समेत भएको छ । बलेफी गाउँ पालिकाले आर्थिक वर्ष २०८०र८१ का लागि कूल ४७ करोड ६ लाखको बजेट प्रस्तुत गरेको छ ।
नयाँ नीति, कार्यक्रम तथा बजेट अनुसार अब पालिका भित्रका किसानले प्रतिलिटर दुधमा पाँच रुपैँया अनुदान पाउने छन् । यसै गरी आफ्नो जमिनमा खेति गर्न नसक्ने अवस्था आएको जानकारी गराउने किसानको खेत बारीमा खेती लगाउन पालिकाले सहजीकरण गर्ने भएको छ । सामुदायिक विद्यालयमा आपतकालिन शिक्षकको व्यवस्था गर्ने, सुत्केरी भेटघाट कार्यक्रम पालिकाले सुरु गरेका नयाँ कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय