सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पश्चिमी भेगमा चल्ने आमा याङ्ग्री यातायात प्रा.लि सिन्धु हेलम्बु यातायात प्रा.लि र सिन्धु हेलम्बु प्रा.लीले दिने सेवा प्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् । 

मेलम्ची,हेलम्बु,इन्द्रावती, पाँच पोखरीलगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरूले पछिल्लो समय मनलाग्दी भाडा लिने गरेको भन्दै गुनासो सुनिन थालेको हो। 

गन्तव्य स्थानसम्म तोकिएको समयमै नपुर्‍याउने, सुपर भन्ने तर लोकल यात्रु चढाउने,सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र भाडा बढी लिने गरेको सर्वसाधारणको गुनासो छ । 

मेलम्ची नगरपालिका वडा नम्बर ११ का विवेक धिताल आफू ठगिएको बताउनुहुन्छ । उहाँ सुपर भन्दै बढी भाडा लिने र गन्तव्यमा लोकल भन्दा पनि ढिलो गरी पुर्‍याउने गरेको गुनासो गर्नुहुन्छ । 

उहाँ जस्तै मेलम्ची तालामाराङका दीपक विक्रम देउजा पनि बढी भाडा लिएर गन्तव्यमा ढिलो पुर्‍याएको गुनासो गर्नुहुन्छ । यातायातका साधनहरूमा भाडा सूचि नराख्ने र छोटो दुरीमा समेत बढी भाडा लिन थालेको उहाँले बताउनुभयो । उहाँले मेलम्चीदेखि तालामाराङसम्मको ६ किलोमिटर रुटको भाडा ६० रुपैयाँ भएको प्रति समेत सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउनुभएको छ ।

यो विषयमा आमा याङ्ग्री यातायात प्रा.लिका अध्यक्ष कान्छाराम श्रेष्ठसँग बुझ्दा गाउँ गाउँमा सुपर गाडी सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले निश्चित भाडा तोकेर स्थानीय तह, प्रहरी कार्यालय लगायत सम्बन्धित निकायमा समेत जानकारी गराइएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले अहिले परीक्षणका लागि गाउँ गाउँमा सुपर गाडी चलाएका छौँ, बसमा भाडा सूचि पनि अनिवार्य गरेका छौँ,यसको जानकारी सम्बन्धित निकायलाई पनि गराएका छौँ” । माघ १ गते देखि परीक्षणको लागि सुपर गाडी छोडेको जानकारी दिँदै तामाङले अब छिट्टै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताउनुभयो । तोकिएको भन्दा धेरै भाडा नतिर्न र कुनै समस्या भएमा समितिमा जानकारी गराउन समेत समितिले आग्रह गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय