काठमाडौँ । काठमाडौँ महानगरपालिका नेपाल राष्ट्रिय शिक्षक सङ्गठनद्वारा प्रकाशित “काठमाडौँ शिक्षक सौगात २०८०”  को विमोचन कार्यक्रम सम्पन्न भएको छ । 

शनिवार नन्दी माध्यमिक विद्यालय नक्सालमा एक समारोहबिच पुस्तक विमोचन भएको हो । 

सङ्घीय सांसद एवम् नेकपा एमालेका सचिव याेगेश कुमार भट्टराईको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय अध्यक्षहरू बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाही, पूर्व उपाध्यक्ष विष्णु पोखरेल, बागमती प्रदेश अध्यक्ष नीर बहादुर कार्की, केन्द्रीय सदस्य केशव भट्टराई, केन्द्रीय पार्षद् तुलाराम ढकाल, जिल्ला अध्यक्ष डिल्ली प्रसाद शर्मा, काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू लगायत महानगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि एमाले सचिव याेगेश भट्टराईले शिक्षकहरू समाजको पथप्रदर्शक भएकाले शिक्षकहरूलाई सम्मानित व्यवहार हुनुपर्ने बताउनुभयो ।

हाल शिक्षा क्षेत्रमा रहेको समस्याहरू समाधान गर्न संङ्घीय शिक्षा ऐन आवश्यक रहेको बताउँदै उहाँले शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। 

कार्यक्रममा बोल्दै शिक्षक सङ्गठनका केन्द्रीय महासचिव हंस बहादुर शाहीले स्थानीय तहको शिक्षकहरूलाई भकुन्डो खेलाए जसरी खेलाउने प्रवृत्ति नरोकिए सङ्गठन कडा आन्दोलनमा उत्रने बताउनुभयो।

शिक्षक सङ्गठनका आफ्ना सङ्गठनात्मक गतिविधि तथा काठमाडौँ महानगर भित्र कार्यरत सबै शिक्षक कर्मचारीको विवरण समावेश गरेर प्रकाशित यस प्रकाशन शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्र सँग सरोकार राख्ने सबैलाई बहुउपयाेगि हुने सङ्गठनका सचिव गणेश गुरागाईँले बताउनुभयो। सङ्गठनले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने सचिव गुरागाईँले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय