काठमाडौं । आफ्नै वडामा तितेपातीको तेल उत्पादन सुरु भएपछि इन्द्रावती-५ का सालिकग्राम आचार्य दङ्ग छन् ।
लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले तेल उत्पादन मेसिन खरिद गरिदिएपछि उनी दङ्गदास देखिएका हुन् ।
बाँदर र बँदेलको रैदलोले नगदेबाली जोगाउन नसकेपछि हैरानी खेपिरहेका उनी अब कृषिलाई जडिबुटीमार्फत उत्पादनमुखि बनाउनुपर्ने सुझाउँछन् । ‘बाँदर र बँदेलले गर्दा हामी साह्रै चिन्तित भएका थियौँ,गाउँपालिकाको यो प्रयास सह्रानीय छ’,उनले भने ।
आचार्यमात्रै होइन इन्द्रावती-५ मा आचार्यजस्ता दर्जनौं किसान बाँदर र बँदेल आतंकले हैरानीमा छन् ।
नगदेबाली जोगाउन नसकेपछि वैकल्पिक खेतिको प्रयासमा जुटेका उनीहरुलाई गाउँपालिकाले फरक ढंगबाट खेती गर्न प्रोत्साहन गरेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बताउँछन् । उनी भन्छन्,’उर्बर भुमी हुँदा हुँदै बाँदर र बँदेल आतंकले हामी कृषिमा सोचेअनुरुप अघि बढ्न सकेका छैनौँ,अब यसलाई फरक ढंगबाट उत्पादनसँग जोड्नुपर्छ ।’
गाउँपालिका उपाध्यक्ष शोभना तामाङ पनि अध्यक्ष नेपालको बोलीमा लोलि थप्छिन् । ‘बाँदर,बँदेल आतंकले हैरानी दिएकोमा म पनि चिन्तित छु,म आफैं कृषक रहेकाले पनि कृषिको विकासलाई लिएर आफुले गर्न सक्ने प्रयत्न गर्छु’,उनले भनिन् ।
इन्द्रावती-५ का अध्यक्ष शशिनाथ आचार्य इन्द्रावती-५ लाई जडिबुटी हबको रुपमा विकास गर्नुपर्ने बताउँछन् । जडिबुटी उत्पादन आयुर्वेदसंग जोडिनेभएकाले यसको ठूलो महत्व रहेको उनले बताए ।
उनी तितेपाती तेल उत्पादनले इन्द्रावती-५ लाई समृद्धिको दिशातर्फ डोर्याएको बताउँछन् । अब तितेपातीको तेल मात्र नभई अन्य औषधीय उत्पादनसंग पनि जोडिनुपर्ने बताए ।