सिन्धुपाल्चाेक । सुनकोसी गाउँपालिकाले वृद्धा,एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरू खुसी भएका छन् ।

बैँकमा गएर लामो लाइन बस्न झन्झट भएपछि गाउँपालिकाले बैङ्कहरूसँग समन्वय गरेर सम्बन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको हाे ।

गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बान्धित वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको थियो ।

सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गरेका थिए । 

सुनकोसी गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरूलाई गत वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ ।

बैङ्कमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो बढेपछि जनप्रतिनिधिहरूले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय लिएका हुन् ।

दसैँको मुखमा बैङ्कहरूमा भिड पनि हुन्छ,वृद्धा बा, आमाहरूलाई असजिलो पनि हुने भएपछि बैङ्कहरूसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सुनकोसीका ७ वटा वडामध्ये ४, ५ र ६ मा बैङ्क टाढा रहेको छ । यी वडामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सुनकोसी गाउँपालिका–६ का धनबहादुर बस्नेतलाई पहिलो तीन महिनाको १२ हजार रुपैयाँ भत्ता प्रदान गरेर वडाबाटै भत्ता वितरण सुरु गरेका थिए । ‘आफैले भोट दिएको मान्छेको हातबाट घरमै भत्ता पाएँ । एकदमै खुसी लागेको छ’, अध्यक्ष तिमिल्सिनाको हातबाट भत्ता बुझेपछि खुसी हुँदै बस्नेतले भने ।

वडा कार्यालयबाट भत्ताबापतको रकम पाउँदा बैङ्कसम्म पुग्न दुःख नभएको र अन्य बेलामा पनि यसै गरी वडाबाटै भत्ता पाए सजिलो हुने वडा नम्बर ६ की मनमाया थापाले बताइन ।

गाउँपालिकाभित्र सरकारले वर्गीकरण गरेको २ हजार ७३४ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडकाले जानकारी दिए ।

वडा नम्बर १ देखि ५ सम्म सिन्धु विकास बैङ्क र ६ तथा ७ मा लक्ष्मी बैङ्कमार्फत भत्ता वितरण गर्ने गरिएको उनले बताए ।

वडा नम्बर १ देखि ३ सम्म सिन्धु विकास बैङ्क नजिकै भएकाले सम्बन्धित बैङ्कमार्फत नै वितरण हुने र ७ मा पनि लक्ष्मी बैक नजिकै भएकाले त्यो वडामा पनि बैङ्कबाटै भत्ता वितरण हुने खडकाले जानकारी दिए ।

 सुनकोसी गाउँपालिकामा ज्येष्ठ नागरिक १६७५,ज्येष्ठ दलित ११३, ज्येष्ठ नागरिक एकल महिला १९५,एकल महिला ३१८,पूर्ण अपाङ्ग ९८, अति अशक्त अपाङ्ग १३५ र दलित बालबालिका २०० गरी कुला २७३४ जनाले मासिक रुपमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबापतको रकम बुझ्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय