सिन्धुपाल्चोक । नोमिनेशन दर्ताको अन्तिम दिनसम्म पनि प्रयास जारी राखेका काँग्रेस नेता मोहनबहादुर बस्नेतले अन्ततः आफूले चुनाव लड्दै आएको क्षेत्रबाट टिकट पाउन सकेनन् । गठबन्धनका कारण सिन्धुपाल्चोक-१ माओवादीको भागमा परेपछि बस्नेतले अन्तिम समयमा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराए । आफ्नो क्षेत्र माओवादीलाई छोड्नु परे स्वतन्त्र उम्मेदवारी दिने घुर्की लगाउँदै आएका उनी अन्ततः सिन्धुपाल्चोक-२ मा टुरिष्ट उम्मेदवार भएर माओवादीकै साथमा चुनाव लड्नुपर्ने बाध्यतामा परेका छन् ।

सिन्धुपाल्चोक-२ मा काँग्रेसले अधिकांश निर्वाचनमा बाहिरबाट उम्मेदवार बनाउँदै आएको छ । २०४८ सालको आमनिर्वाचनमा १ नम्बर क्षेत्रकै विनोद लामाबाट सुरु भएको टुरिष्ट उम्मेदवारको सिलसिला २०७९ सालसम्म पनि कायम नै रहेको छ । जिल्लाको सिफारिसलाई बेवास्ता गर्दै पहुँचको आधारमा केन्द्रबाट सिधै टिकट लिने परिपाटीले गर्दा यस क्षेत्रका नेता-कार्यकर्ता निरन्तर अवसरबाट वञ्चित हुनुपरेको जिल्लाका नेताहरूको गुनासो रहँदै आएको छ । २०४८ सालको निर्वाचनमा भक्तध्वज प्रधान,श्याम श्रेष्ठ, चन्द्रलाल श्रेष्ठजस्ता निष्ठावान नेताहरू उम्मेदवारका लागि आकाङ्क्षी थिए, तर नामै नसुनिएका र भूगोलमा नचिनिएका लिसंखुृका विनोद मोक्तानलाई उम्मेदवार बनाएपछि त्यतिबेला पनि चर्को असन्तुष्टि चर्किएको थियो ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि उनै मोक्तानलाई केन्द्रबाट टिकट थमाइएपछि यस क्षेत्रका काँग्रेसीहरू आगो मात्र भएनन्, तत्कालीन जिल्ला सभापति श्याम श्रेष्ठले तामा तुलसी छुन लगाएर ‘अब आइन्दा यो क्षेत्रबाट चुनाव लड्न आउँदिन’ भन्न लगाई किरिया नै ख्वाएको प्रसङ्ग अहिले पनि चल्ने गर्छ ।

टुरिष्ट उम्मेदवारबाट हैरान भएका सिन्धुका काँग्रेसीहरूले २०५६ सालको निर्वाचनमा भने सोही क्षेत्रका राजेन्द्रमान ताल्चा भँडेललाई उम्मेदवारको रूपमा पाए । तर, २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पुनः १ नम्बर क्षेत्रकै भूपेन्द्र थापालाई टिकट दिइयो । २०७० को चुनावमा सोही क्षेत्रका विकास लामाले चान्स पाए पनि २०७४ मा काँग्रेस र राप्रपाको चुनावी गठबन्धनका कारण राप्रपाका पशुपतिशम्सेर जबराले टिकट हात पारे । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वचनमा पनि १ नम्बर क्षेत्रकै बस्नेतलाई केन्द्रले उम्मेदवार बनाएपछि पुरानो विवाद फेरी बल्झिएको छ ।

कतिपय काँग्रेसीहरू टुरिष्ट उम्मेदवारलाई भोट नहाल्ने भन्दै जिल्ला नेतृत्वलाई खुला चुनौती दिइरहेका छन् । तर, काँग्रेसले २ नम्बर क्षेत्रमा हालसम्म जित्न नसकेका कारण यसपटक अवसर जुरेकाले बस्नेतको पक्षमा खुलेरै लाग्नेहरू पनि छन् । गएको स्थानीय निर्वाचनमा बस्नेतको छुद्र बोलिका कारण चिढिएका झलक नेपाल दुई नम्बर क्षेत्रमा पहिलो पटक काँग्रेसले जित्ने अवसर आएको हुँदा सबै तिक्तता भुलेर लाग्ने बताउँछन् । झलक मात्र हैन, यो क्षेत्रका अधिकांश नेता-कार्यकर्ता बस्नेतसँग चिढिएका छन् । काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा, इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, राजेन्द्र ताल्चा भँडेल लगायत अधिकांश चिनिएका र स्थापित काँग्रेसीहरू बस्नेतसँग खुसी छैनन् ।

आफ्नो क्षेत्र-१ नम्बरमा टिकट पाउनेमा ढुक्क देखिएका बस्नेतले सबै ढोका बन्द भएपछि श्रीमती माण्डबी राणामार्फत प्रधानमन्त्री पत्नी आरजु राणालाई फकाउने अन्तिम अस्त्र प्रयोग गरेका थिए । त्यो अस्त्रले काम नगरेपछि उनले २३ गते बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई घुर्क्याउँदै दूईवटा प्रदेशसभाका र एउटा प्रतिनिधिसभा क्षेत्रको खाली टिकट बोकेर नोमिनेशन दर्ता गर्न उनी चौतारा हानिए । उनले सबैभन्दा पहिले टिकटमा आफ्नो नाम भरे । गठबन्धनअनुसार सिन्धुपाल्चोक-२ र प्रदेशसभा (ख) अनि त्यस्तै प्रतिनिधिसभा-१ को प्रदेशसभा (क)को खाली टिकट हात पारेका बस्नेतले १ को ९क० मा आफ्ना अनुयायी मानकुमारी उर्फ मसिना खड्काको नाम भरे । त्यस्तै, २ (ख)का मा पनि उनले आफ्ना विश्वासपात्र कृष्णकुमार तामाङको नाम लेखे । रोजेको क्षेत्र नपाए पनि केन्द्रीय पहुँचका आधारमा ‘आफ्नो हात जगन्नाथ’ गरेका बस्नेतले यसरी प्रदेशसभाका टिकट आफ्ना खेमाकालाई पार्न सफल भएका हुन् ।

जसका कारण शेखर कोइराला पक्षधरहरू यो निर्वाचनमा उम्मेदवार बन्नबाट नै वञ्चित भएका छन् । ‘हामीलाई भित्तामा पु¥याउनेलाई हामीले चैँ बोक्नु पर्ने’, कोइरालापक्षका एक नेताले भने, ‘हामी जे गर्छौ मङ्सिर ४ मा गर्छौ ।’

स्थानीय राजनीतिकर्मीहरूको भनाई अनुसार कोइराला पक्षलाई मनाउन नसके बस्नेतलाई चुनाव जित्न निकै कठिन छ । माओवादीको चर्को विरोध गर्ने गरेका उनले गठबन्धनमा पनि सकारात्मक माहौल बनाउन सकेका छैनन् । एमालेको पकड भएको क्षेत्र भएकाले पार्टी र गठबन्धनको पूर्ण सहयोग नहुँदा परिणाम उनको पक्षमा पार्न ‘फलामको चिउरा चपाउनु’ सरह हुने यहाँको राजनीतिलाई नजिकबाट बुझेकाहरू बत्ताउँछन् । कतिपय कोइराला पक्षले निर्वाचनमा पार्टी एक ढिक्का हुनुपर्ने आव्हान सामाजिक सञ्जालमा पोष्टाए पनि अन्तर्घात गर्न कति पनि नहिचकिचाउने काँग्रेसीहरूले यो चोटि के गर्लान् त्यो भने अबको ३९ दिनपछि थाहा हुनेछ ।

एता नेकपा एमालेबाट उम्मेदवार बनेका शेरबहादुर तामाङ भने ह्याट्रिक गर्ने दाउमा छन् । एमालेका स्थायी कमिटीसमेत रहेका तामाङ २०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुँदै आएका छन्। यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका दावा तामाङसँग ९८ मतले पराजित भएका थिए। 

पहिलो पटक ०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक ३ मा उम्मेदवार बनेका थिए उनी। तत्कालीन समयमा पशुपति शमशेर राणाले उनलाई पराजित गरेका थिए।  ०६४ मा उनी एमालेबाट लडेका उनी जित्न सकेनन्। तत्कालीन समयमा माओवादी केन्द्रसँग उनको कडा प्रतिस्पर्धा भएको थियो। ०७० मा सिन्धुपाल्चोक ३ बाटै पहिलो पटक चुनाव जिते। ३ वटा निर्वाचन क्षेत्र घटेर २ मा झर्‍यो। शेरबहादुरले २०७४ मा २ मा चुनाव लडे र जिते पनि। फेरी पनि उनी पहिलेकै साख जोगाउने रणनीतिमा छन् । जातीय प्रभाव रहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा तामाङहरूको बाहुल्यता भएका कारण उनी पहिलेको साख फर्काउने दाउमा छन् । 

नेपाली काङ्ग्रेसभित्र क्षेत्र नम्बर १ मा राजनीति गरिरहेका बस्नेत २ मा आउँदा त्यहाँका आकाङ्क्षीहरू झस्केका छन्। केही समयअघि सम्पन्न भएको महाधिवेशनमा देखिएको विवादका कारण पनि बस्नेतलाई आफ्नै पार्टीबाट घात हुने त्रास छ। त्यस्तै सुरुमा प्रदेश सभातर्फ काङ्ग्रेसबाट निमा लामाले टिकट पाएका थिए। 

हेलम्बु क्षेत्रको प्रतिनिधित्व गर्ने लामाले पाएको टिकट खोसेर कृष्णकुमार तामाङ (समी) लाई दिएको भन्दै निमा पक्ष असन्तुष्ट बनेको छ। यही असन्तुष्टिको डर बस्नेतलाई रहेको छ भने तामाङ पक्ष यसैमा फाइदा उठाउने दाउमा छ। यसो त जिल्ला अधिवेशनमा बंशलाल तामाङलाई हराउन मोहन बहादुर बस्नेतले अपनाएको हतकण्ठालाई तामाङले पनि झोक फेर्ने देखिन्छ । यो हुँदा यसको प्रत्यक्ष फाइदा सोझै शेर बहादुर तामाङलाई जाने देखिन्छ । 

(एक महिनाअघि शुभटाईम डटकममा प्रकाशित न्युज दोहोर्याइएको)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय