सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा निर्माणाधीन सीता हाइड्रोपावर आयोजनाको लापरबाहीका कारण बालिकाको मृत्यु भएपछि उचित क्षतिपूर्ति र अव्यवस्थित तारको व्यवस्थापनको माग गर्दै आन्दोलित स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।

हाइड्रोका सञ्चालक सिताराम तिमल्सिनाले वार्ताबाट समाधान गर्नुपर्ने र आयोजनाको काम अघि बढाउनुपर्ने भन्दै स्थानीय हिमाल तामाङ र अभि तामाङलाई योजनाबद्ध रूपमा प्रहरी बोलाएर पक्राउ गरेको हो ।

पक्राउ परेकालाई नि:शर्त रिहाइ गर्नुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीयले आइतबार आयोजना स्थलमा विरोध सभा गरेका छन् ।

तत्काल आफूहरूको माग सम्बोधन नभए जिल्ला प्रशासन घेर्ने तयारी रहेको आन्दोलनकारीले बताएका छन् । 

जुगल पालिका एमाले अध्यक्ष छिरिङ दोर्जे तामाङका अनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भए पनि हाइड्रो सञ्चालक सिताराम तिमल्सिनाले नियोजित रूपमा निर्दोष नागरिकलाई पक्राउ गर्न लगाएको बताउनुभयो ।

‘अबोध बालिकाको ज्यान गएको छ ,पीडितले न्याय पाउनुपर्छ यसमा कुनै दलीय स्वार्थ स्वीकार्य हुँदैन’,उहाँले भन्नुभयो ।

‘हामीले निरन्तर खबरदारी गरिरहेका छौँ,अबको केही दिनमा पक्राउ परेकालाई रिहा नगरिए हामी प्रशासन घेर्ने गरी आन्दोलन अघि बढाउँछौ’,उहाँले भन्नुभयो । हाइड्रोले आन्दोलित २२ जनाविरुद्ध उल्टै प्रहरीमा उजुरी दिएको छ ।

स्थानीयले जलविद्युत् आयोजनाले विद्युत्‌बाट सञ्चालन हुने मेसिन सञ्चालनका लागि लगिने नाङ्गो तार व्यवस्थित गर्न माग गरेका छन्। नाङ्गो तारबाट पटक पटक धुवाँ निस्कने र करेन्ट सर्ट हुँदा कुनै पनि वेला थप मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयवासीले आयोजनालाई पटक पटक सचेत गराए पनि बेवास्ता गरेको उनीहरूको भनाइ छ। 

जलविद्युत् आयोजनामा कार्यरत मजदुर सरोज थारूको पनि गत फागुन ७ मा करेन्ट लागेर मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय