​​​​​​​सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले मनोमानी ढङ्गले गाउँपालिकाभरका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गाउँपालिकाको सबै विद्यालयमा गाउँपालिका अध्यक्ष  गङ्गाबहादुर तामाङले आफ्ना कार्यकर्ता भर्ती गर्नुभएको हो। शिक्षा नियम ऐन विपरीत गाउँपालिका अध्यक्ष तामाङले सोझै चिठी काटेर समितिको अध्यक्ष बनाउनुभएको हो ।

यस कार्यप्रति घोर भर्त्सना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन  अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको छ । आज बलेफीको गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटा र शिक्षा,युवा तथा खेलकुद विभाग प्रमुख सल बहादुर पाण्डे दुबैलाई फरक-फरक ध्यानाकर्षण पत्र बुझाईएको अनेरास्ववियु सिन्धुपाल्चाेकका सचिव नवीन पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङ काम विशेषले काठमाडौँ रहेको र ध्यानाकर्षण पत्र लिन समय नमिल्ने बताउनुभएकाे पाण्डेेले बताउनुभयाे ।। 

शिक्षा ऐन र नियमावलीअनुरूप विद्यालय व्यवस्थापन समिति गठन गर्न अनेरास्ववियुले गाउँपालिकासमक्ष आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ ‘सामाजिक विकासको मेरुदण्डको रूपमा रहेको शिक्षा क्षेत्रमा भएको चरम लापरबाही, स्वेच्छाचारी अलोकतान्त्रिक गतिविधि तत्काल रोकी शिक्षा ऐन र नियमावली अनुरूप विद्यालय व्यवस्थापन समिति गठन गर्न अनेरास्ववियु जिल्ला कमिटी अपिल गर्दछ । ’

‘शिक्षाप्रेमी, बुद्धिजीवी लगायतका पगरी भिराइ गराइएको भनिएको मनोनीत अवैध रहेको हाम्रो ठहर छ’,ध्यानाकर्षण पत्रमा भनिएको छ ।  गाउँपालिकाको शिक्षा नीति विपरीत, स्वेच्छाचारी तथा मनोमानी ढङ्गबाट सञ्चालन हुनु लोकतन्त्रको उपहास रहेको भन्दै तत्काल निर्णय फिर्ता लिई कार्यान्वयन नगर्न अनेरास्ववियले आग्रह गरेको छ । 

नीति विपरीतका निर्णय नसच्चिए आन्दोलनको घोषणा गर्ने सचिव पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो ‘नीति विपरीतका निर्णय नसच्चिए क्रमबद्ध रूपमा आन्दोलनको घोषणा गर्छौ आन्दोलनबाट हुन सक्ने क्षतिको जिम्मेवारी गाउँपालिकाले आफैँ लिनुपर्छ । ’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय