मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिवार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो ।

यसअघि नगरले सुरु गरेका कामको निरन्तरताका साथमा थप नयाँ र फरक कार्यक्रम सञ्चालन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । भवन निर्माणतर्फ वडा नं. ३, ८, १० र १३ को वडा कार्यालय निर्माण सम्पन्न भएको, दुई सामुदायिक भवन निर्माण सम्पन्न, पाँच वटा गुम्बा, चार वटा मन्दिर, १२ वटा चिहानघाट, एक बुद्ध मूर्ति र एक झाँक्री मूर्ति निर्माण सम्पन्न भएको छ भने केही निर्माणाधीन छन् । 

सडक ढलान, ग्राभेल, नयाँ सडक बनाउने कामका साथै पक्की सडक नाली, कल्भर्ट निर्माण आदि काम पनि सम्पन्न भएको छ । २५ खानेपानी योजनामार्फत एक सय ८२ धारा निर्माण गरी ८५ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याइएको, सिँचाइका लागि साढे दुई किलोमिटर पक्की कुलो निर्माण गरिएको उपलब्धिमा उल्लेख गरिएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि धौलेमा प्रवेशद्वार, मन्दिर, सत्तर र पोखरी निर्माण भएको छ, गुफा डाँडामा सामुदायिक भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ । छ सय छ वटा योजनामध्ये एक सय ९५ योजना सम्पन्न भएका छन् । कक्षा ७ र ८ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था, प्रधानाध्यापकलाई थप भत्ताको व्यवस्था गरिएको छ । न्यून आय भएका एक सय छ जना किसानलाई आयआर्जन बढाउन भैँसी पालन, बङ्गुर पालन र बाख्रा पालनका लागि सहयोग गरिएको छ । पशु सुत्केरी भत्ता, साझेदारी कार्यक्रम, कृषि औजार, बिउ, टनेल आदि वितरण गरिएको छ । सहकारीसँगको साझेदारीमा कोल्ड स्टोर पनि निर्माण भइरहेको जानकारी दिइएको छ ।

चालु आर्थिक वर्षमा केही नयाँ कामको सुरुवात गरिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । यस्ता कार्यक्रममा कक्षा ९ देखि १२ सम्म चार जनालाई सिभिल इन्जिनियरिङ, र दुई जनालाई कृषि विज्ञान विषयमा डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति व्यवस्था गरिएको, गर्भवती तथा सुत्केरीलाई पालिकाभित्रको प्रजनन केन्द्रमा आउन जान तथा अन्य संस्थामा रेफर गरिएमा जानका लागि निःशुल्क एम्बुलेन्स सेवा, तीन विद्यालयमा नमुना विद्यालय कृषि कार्यक्रम रहेका छन् ।

यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको, आठ वटा विद्यालयमा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको, स्थानीय आपत्कालीन केन्द्र स्थापना तथा सञ्चालन गरिएको, वडैपिच्छे कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिएको पनि नयाँ कार्यक्रमको रुपमा प्रस्तुत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले पञ्चवर्षीय योजना प्रस्तुत गर्दै सुन्दर, आत्मनिर्भर र समृद्धिशाली मेलम्ची नगरका लागि सवा आठ अर्ब खर्च अनुमान गरिएको जानकारी दिनुभयो । नगरको रूपान्तरणकारी योजनाको रुपमा भोटे चौर तपचुली क्षेत्र, धौले तथा गुफा डाँडा, थानाभन्ज्याङगढी क्षेत्रलाई अन्तरआबद्धता गर्दै साहसिक तथा मनोरम पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने रहेको छ । साथै सिन्धु खोला क्षेत्रमा जलाशय निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, पालिकाको सम्भाव्य उच्च क्षेत्रमा नमुना आवासीय माध्यमिक विद्यालय स्थापना गर्ने, मेलम्ची बजारमा स्थानीय संस्कृति, भाषा, खानाको प्रवर्द्धन गर्दै होमस्टे सञ्चालन गरी यहाँबाट सुरु हुने विभिन्न पदमार्गको प्रवेश विन्दुका रुपमा विकास गर्ने रहेको छ ।

वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको समेत उपस्थितिमा भएको सो कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य राख्नुभयो । नेपाल पत्रकार महासङ्घका, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले नगरपालिकाकाले कार्यक्रम बनाउँदा पत्रकार महासङ्घसँग पनि सहकार्यका लागि आह्वान गर्नुभयो । 

पत्रकार सम्मेलनमा पत्रकारहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै नगर प्रमुख तामाङले स्रोतले भ्याएसम्म आम समुदायको हितका लागि कार्यक्रम ल्याएको र आगामी दिनमा पनि जनमुखी कार्यक्रम ल्याउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत धितालले वित्तीय सुशासन जोखिम मूल्याङ्कन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम र वाग्मती प्रदेशमा दोस्रो स्थानमा रहेकाले मेलम्ची नगरको काम गराइ राम्रो रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय