मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरको प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताउँदै भवन निर्माणसँगै अब सेवा पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । उहाँले कार्यालय परिसरको ग्राउन्ड मर्मत तथा व्यवस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब नवलपुर —मेलम्ची सडक पिच हुने बताउँदै अन्य सडकको पनि स्तरोन्नति गरिने बताउनुभयो । उहाँले कृषि, पशुपालनमा नगरले विशेष ध्यान दिने बताउनुभयो ।

जनताको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले जनताको दुःख सुख दुःखको सारथि बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामी दिनमा सेवा प्रवाहमा नागरिकलाई कुनै पनि झन्झट हुन नहुने बताउनुभयो । वडामा रहेका सडक,सिँचाई कुलो बाह्रै महिना सञ्चालनका लागि नगरले बजेटको व्यवस्था गर्ने तामाङको भनाइछ । निवर्तमान वडा अध्यक्ष भत्तबहादुर खडका तथा वर्तमान वडा अध्यक्ष अमृत खनाललाई भवन निमार्ण सम्पन्न भएकोमा उहाँले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका सभापति एवम् वडा नम्बर १०का वडा अध्यक्ष अमृत खनालले चुनावका प्रतिबद्धता अनुसार आफूले काम गरिरहेको बताउँदै थप विकाश निर्माणका काम र सेवा सहज बनाउन आफू सदैव लागि पर्ने बताउनुभयो ।
उहाँले वडाको मुख्य आवश्यकता भनेकै सडक,शिक्षा र स्वास्थ्य भएकोले यसलाई पुरा गर्नका लागि निरन्तर लागिरहने बताउनुभयो । मेलम्ची वडा नम्बर ९का अध्यक्ष किरणदिप खड्काले नागरिकहरूलाई दिने सेवा सुविधामा नयाँ भवनले सहज हुने विश्वास व्यक्त गर्नुभयो । खडकाले मेलम्ची १० को विकाश निमार्ण लगायत कार्यको प्रशंसा गर्नुभयो । वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले गाउँ गाउँमा सिंह दरबार भन्ने नारालाई सुन्दर भवनले मूर्तरूप दिएको बताउँदै अब सेवामा सहजता प्रदान गर्न अनुरोध गर्नुभयो ।

निवर्तमान वडा अध्यक्ष भत्तबहादुर खडकाले सुन्दर भवन बाट सुन्दर सेवा वडा बासिले पाउने विश्वास व्यक्त गर्नुभयो । एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । १ करोड २६ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजपुरमा प्रदान गर्न सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी पुडासैनीले बताउनुभयो । कार्यक्रममा जग्गादाताहरू टोमशंकर दुलाल र तारानाथ दाहाल लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नगरपालिकाका इन्जिनियर जितबहादुर कार्की, निमार्ण व्यवसायी फडिन्द्र दाहाल, वडा सचिव अर्जुनबहादुर अधिकारीलगायतले आफ्नो धारणा व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय