आनन्द र मधुर भाव प्रकट भगवान रसमा भुलिएको एक यात्री र भगवान सेवामा जान लागेको चराहरुको बथान सँगको प्रश्न उत्तर सहितको गीत जति सुने पनि पट्यार लाग्दैन थियो ।
यति मात्र नभएर तिजको बेलामा दुःखसुखका गित, प्रेमभावका गितहरु जसमा बरिलै भाकामा मधुर रसपान गर्न सक्दथ्यौँ, सुन्दै तिज आएआए जस्तो लागिहाल्थ्यो । रातो साडी लाएका महिला दिदीबहिनीहरु वर्ष दिनमा एक पटक सबैसँग भेटघाट हुने र आफ्नो दुःखसुखका वेदनालाई गितको माध्यमबाट प्रकट गर्ने यो पर्व साँच्चै सनातन संस्कृतिमा विशेषत : नेपाली नारीहरुका लागि अति नै महत्वपूर्ण पर्वको रुपमा मानिन्छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन देखि भाद्र पञ्चमीसम्मको तीन दिन हिन्दू नेपाली नारीहरुले मनाउने पर्वको आफ्नै महत्व र विशेषता रहेको छ । सत्ययुगमा माता पार्वतीले भगवान शिवलाई आफ्नो बर (स्वामी) को रुपमा पाउनको लागि निराहार रहि उहाँको सुस्वास्थ्य र उहाँको शरीरमा कुनै बाधा नपरोस् भनी कामना गरी ब्रत बसेको र उहाँलाई स्वयम भगवान प्रकट भइ मनोकामना पुरा हुने बरदान दिएको दिन भाद्र शुक्ल तृतीयामा हरेक नेपाली हिन्दू नारीहरुले यस पर्वलाई आफ्नो पतिको दिर्घायू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै व्रत बस्ने गर्दछन् ।
यस पर्वमा विशेष गरी तृतीयाको दिन भगवान शिवको पुजाअर्चना गरेर सुरु गरिन्छ र पञ्चमीको दिन सप्तऋषिहरुको पुजा गरी समापन गरिन्छ । यस पर्वमा विवाह गरेर गएकी आफ्नी चेलिहरुलाई माइतीले सम्मानका साथ घरमा बोलाउने र मिठामिठा पकवान् बनाएर खुवाउने गर्दछन् । सक्नेले आफ्नी चेलीलाई नयाँनयाँ लुगाकपडाहरु उपहार स्वरुप दिने गर्दछन् ।
विवाह गरेर गएका चेलीहरु माइतीमा आउने तिजको अघिल्लो दिन माइतीले पकाएर दिएका मिठा मिठा खानाहरु (दर) खाने, एक अर्कामा दुःखसुख साट्ने गर्दछन् र भोलिपल्ट बिहान सबेरै उठेर नुहाँईधुवाई सकि चोखा कपडा लगाएर सक्नेले निराहार र नसक्नेले फलफूल खाएर दिनको मध्यान्नीमा भगवान शिवको पुजाअर्चना गरी नाचगान गरी रमाइलो गर्दै दिन बिताउँदछन् ।
विवाह पश्चात् लामो समयसम्म भेटघाट नभएका गाउँका दिदीबहिनीहरु सँग भेटघाट गर्ने, रमाइलो गर्ने पर्वको रुपमा पनि यो तिजपर्व प्रचलित छ । साँझको समयमा पनि भगवानको आराधना गर्ने गर्दछन् भने भोलिपल्ट गणेश चतुर्थीको पुजा गरी पर्सिपल्ट वा भाद्रशुक्ल पञ्चमीको दिन सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनाई यो तिज पर्वलाई विधिवत् रुपमा समापन गरिन्छ । पुर्विय दर्शनको ठूलो धार्मिक मान्यता र परम्परा रहेको यो पर्व आजकल भडकिलो, महँगो र अनावश्यक रुपमा विकृति फैलिदै गइरहेकोले धार्मिक क्षेत्रमा कार्य गर्ने सवैलाई चिन्तित तुल्याएको छ ।
सनातन संस्कृतिका हरेक पर्वको आफ्नै छुट्टै महत्व रहेको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारणहरु छन् । बेलाबेलामा खाली पेट रहनु स्वास्थ्यको लागि उत्तम मानिन्छ जसलाई हाम्रो धार्मिक भाषामा व्रत भनिन्छ । शाकाहारी भोजन, फलफूल खानु, दुध पिउनु जस्ता कुरालाई विज्ञानले पनि राम्रो मान्छ जसलाई सनातनीय भाषामा सात्वयिक भोजन भनिन्छ ।
परिवारका एक सदस्यले अर्को सदस्यको सुस्वास्थ्य, दिर्घायूको कामना गर्ने कुरा आफैमा महत्वपूर्ण रुपमा लिनु पर्दछ । सनातन धर्म संस्कृति सबै परम्परा वैज्ञानिक र हितकारी छन् यो कुरालाई कसैले नकार्न सायदै सक्दैनन् र पनि धर्म संस्कृति र परम्परालाई नै चुनौति दिने खालका क्रियाकलापले यसको महत्वलाई घटाउदै र विश्वास हराउँदै गएको छ । विशेषत: तिज पर्व नाचगान र उत्सवको रुपमा मनाउने परम्परा हो तर अहिले हामीले सुन्ने तिज गितहरु कस्ता छन् ? के शब्द राखेर गितहरु बनेका छन् ? के त्यी गितहरुले हाम्रो मौलिकतालाई संरक्षण गरेको छ ? के हाम्रो धर्मको रक्षा गरेको छ ? भनौँ नारीहरुलाई सम्मान गरेको छ ? साँच्चै तिजको गित भनेर प्रशारण हुने कतिपय गितहरु त दिदिबहिनिहरु सँग बसेर हेर्न वा सुन्न पनि लाजै लाग्दो हुन्छ । धेरैजसो गितहरु त पुरुषले नै गाएको पाइन्छ (पुरुषले गाउनै नहुने त होइन) र त्यस्ता गितहरु जुन रत्यौली पारामा (विवाहमा जन्ती गइसकेपछि बेहुलाको घरमा आमादिदीबहिनी मिली पुरुष र महिलाको भेषमा गाइने रमाइलो र अलिअलि छा…. गित) गाइएका हुन्छन् ।
रत्यौलि र तिजको फरक पनि छुट्याउने नसक्ने आजकालका आफुलाई केही आधुनिक पाराको गायक भनेर घोषणा गर्ने र सस्तो लोकप्रियता कमाउनका लागि यस्ता हर्कत गर्ने गरेको देखिन्छ । अझ हापपाइन्ट र हाप टिर्सट लगाएर तिजका गित भन्दै बरिलै र लरिलै गरि उफ्रने गायिका र साडी चोलो लगाएर विच्चविच्च र छेउछेउ भन्दै उफ्रदै गाउने गायक अनि नाइटो र ओठमा मुन्द्रा लगाई नो तिज र नो व्रत भनी चिच्याउने संगितकर्मी हरुको कारण तिजको मौलिकता र यसको परम्परामा ठूलो असर परेको पाइन्छ ।
गित गाउन पाए भन्दैमा जस्तो पायो त्यस्तो शब्दको प्रयोग गर्ने, कुन संस्कृति, कुन परम्परा र त्यसको महत्व नै नबुझी नानाभाँती शब्दहरुको प्रयोग गर्दा पनि हामीहरु चुपचाप त्यही गित यूट्यूवबाट डाउनलोड गरी चर्को आवाजमा होटेल र रेष्टुरेष्टतिर गई परम्परा जोगाएका छौ भन्दा अलिकति अपाच्य भएको महसुस हुन्छ । अझ अचम्मको कुरा त देशको मौलिकता, सांस्कृतिक र धार्मिक परम्परामाथि नै सिधै आक्रमण गर्ने खालका त्यस्ता गितहरु सार्वजनिक हुँदा शब्द सेन्सर गर्ने कुनै कानून नभएको सुन्दा त हाम्रो देशमा जे मन लाग्यो त्यही बोल्ने र लेख्नलाई लोकतन्त्रले पूर्ण छुट दिएको महसुस भएको छ । सनातनदेखि चलिआएको मौलिक परम्परलाई समय अनुसार केही परिवर्तन गर्नुपर्ने हुन सक्छ । त्यसका पनि केहि कमीकमजोरी हुनु स्वाभाविक हो, यो कुरा समय अनुसार आफै बदलिँदै गइरहेको पनि छ । तर सस्तो लोकप्रियता र पैसा कमाउने उद्देश्यले यस्ता आस्थाका पर्वहरुमा आक्रमण गर्दा सबै सचेत भएर सोच्नुपर्ने जरुरी देखिन्छ । अन्त्यमा, समस्या र विकृति आउँदैमा चाडपर्व गलत र मनाउन नै नहुने हो त ?? भन्ने लाग्न सक्छ, तर यसलाई विगतमा भएको भड्किलो व्यवहारको न्यूनीकरण गर्दै पुनः पर्वको खास अर्थ दिने गरि मनाउन हामी सबै सचेत नागरिकहरुको भुमिका हुनु पर्दछ ।
तिजकै नाममा महिनौ दिन अघिदेखि दर खाने भनेर पार्टी प्यालेसमा विभिन्न महिलाकर्मी संघसंस्था, समूह र राजनीतिक दलले गर्ने यस्ता भड्किला कार्यक्रम हरुको अन्त्य गरि बरु तिजको महत्त्व र यसको सकारात्मक पक्षमा अन्तरक्रिया लगायत सामाजिक सद्भाव नखलबलिने कार्यहरु गर्ने गरि मनाउनु पर्दछ । यसले समाजमा एकता र सहिष्णुता नभै झन् वर्गीय खाडललो सिर्जना गर्ने हुँदा पर्वको नाममा आउने यस्ता विकृति लाई निरुत्साहित गरिनुपर्दछ । पुनः पर्वको मौलिकता नमासिने गरि सामाजिक सद्भाव कायम राखेर तिज पर्व मनाउन अनुरोध गर्दै तिजपर्व –२०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सम्पादकीय नोट : स्वर्गीय नवीनले आफ्नो दुर्घटना हुनुअघि हामिलाई पठएका थिए । नवीनको गत ३० भदौमा चौतारा सांगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडाँमा सडक दुर्घटनामा परि मृत्यु भएको थियो । उनको यो लेख विना सम्पादन प्रकाशन गरेका छौँ । हार्दिक श्रद्धाञ्जली नवीन ! शुभटाइम डटकमका कार्यकारी सम्पादक विशाल आचार्यलाई स्वर्गीय पाण्डेले पठाएको यो लेख जस्ताकाे त्यस्तै ।