मेलम्ची ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई सहकारीको अनुरोधमा स्थानीय सरकारले प्रदान गर्ने विभिन्न सेवाहरू रोक्न सकिने बताउनुभएको छ ।

महिलाहरूको सहभागितामा सञ्चालित इन्द्रावती महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभाको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सहकारी संस्थाहरूको विकासले ग्रामीण क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरूको आर्थिक अवस्था परिवर्तनको लागि उल्लेख्य भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि उत्पादनमूलक र व्यवसायमूलक क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो । 

उहाँले उत्पादनमूलक ठाउँमा गर्ने लगानीमा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा बागमती प्रदेशका पूर्व पशुपक्षी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका पूर्व उपप्रमुख भगवती नेपाल लगायतले पछिल्लो पुस्तामा शिक्षित महिलाहरूले सञ्चालन गरेको सहकारीको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो । 

साथै सहकारी मार्फत विभिन्न रोजगारको सिर्जना हुने उत्पादनमूलक क्षेत्रमा जोडिन आग्रह गर्नुभयो । सहकारी संस्थाले यस वर्ष विभिन्न क्षेत्रमा ऋण लगानी गरी २९२७३१।८४ पैसा खुद नाफा आर्जन गर्न सक्षम भएको कोषाध्यक्ष कालि वाइबा तामाङले जानकारी दिनुभयो । कार्यक्रम संस्थाको अध्यक्ष कल्पना चालिसेको सभाध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय