म, हराउँदै छु डुब्दै छु विलयको मुखको नजिक छु महाप्रलयको भुमरीमा छु र त म आज, म सँगै हार्दै छु ।
मेरा सपनाहरू कुहिँदै छन्, सपनाका गन्धहरू चारैतिर छरपस्ट छन् भाग्दा, हिँड्दा, घस्रँदा, बामे सर्दा पनि न मेरो सपनासम्म पुगे न मेरो सपनामा एक चिम्टी सास नै भर्न सके सके त केबल सपना तुहाउन! कठै म !
मेरा प्रेमिला भावहरू हराउँदै गए भावना मर्यो प्रेमले आत्महत्या गर्यो सहानुभूतिमा डढेलो लागो मन भुतभुते खरानी झैँ भयो र त आज एक्लो भएको छु अनि एक्लै जल्दै छु !
ऋण लाग्यो दिन पनि लाग्यो साथीहरूले बाटो मोडे आफन्त नारा लगाउँदै छन् छिमेकी खित्का छोड्छ शत्रुहरू भोज गर्दैछन् अरे अनि म इज्जतको लिलामीको भाउ खादै छु कठै म ! …………
मर्दा मलामी पाउँदिन मैले कतिलाई बदनियत धोका दिए कतिको उधारो वचन बाँकी छ, गुन लगाएका जति बैगुनी भइसके! छिमेकी आँखा तर्छन् आफन्तहरू टेका लगाएर राख्या छु र त एक टुक्रो दाउरा, एक अँजुली पानी हाल्ने कोही छैनन् कठै म !
म आज सन्सार नै विलयको भावमा डुबिरहेको छु न त भित्रको म जिउँदै छ, न त मेरा सपना जीवित छ, न मेरा भावना मुर्छित छ, न मेरा इज्जत बाँकी छ
बाँकी छन् त केबल एक थान जिजीविषा एक थान बेइमानीको नामाकरण एक सर्को सास अनि एउटा जिउँदो लास कठै म !