सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका र एसटिएलआरपी परियोजनाको साझेदारी कार्यक्रमअन्तर्गत सोमबार (आज)बाट गाउँपालिका स्तरीय होमस्टे तालिम सुरु भएको छ । 

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले यस कार्यक्रमबाट पाँचपोखरी भित्रका होटेल तथा होमस्टेहरू व्यवस्थित तथा गुणस्तरीय हुने विश्वास लिइएको बताउनुभयो । 

उहाँले पर्यटनको पर्याप्त सम्भावना बोकेको पालिकालाई पर्यटकको हब बनाउन गाउँपालिका लागि रहेको भन्दै त्यसैका लागि होटेल र होमस्टेको विकास गर्दै अगाडी बढेको बताउनुभयो ।

उहाँले अतिथि सत्कार, खानाको परिकारदेखि अन्य कुराहरूमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । तालिमले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उहाँले बताउनुभयो ।

वडा नम्बर ३ का अध्यक्ष एवम् पाँचपोखरी पर्यटन बोर्डका अध्यक्ष ङिमा छिरिङ तामाङको अध्यक्षतामा भएको कार्यक्रम भोताङको यार्सामा २८ गते सम्म चल्नेछ । 

तालिमले होमस्टे व्यवसायीहरूको क्षमतामा अभिवृद्धि भई थप व्यवस्थित होमस्टे सञ्चालनमा टेवा पुगि पर्यटकहरूको सेवामा गुणस्तरीयता आउने र जीविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटनमा टेवा पुग्ने पर्यटन बोर्डका सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पाँचपोखरी पर्यटन बोर्ड सदस्य कल्पना पण्डित,प्रशासन प्रमुख रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

होमस्टे तालिम ३० जना सहभागी रहेका छन् भने तालिमको अवधिभर होटेल तथा होमस्टे सम्बन्धी प्रत्यक्ष रूपमै सहभागीहरूलाई सिकाइने छ । तालिमको सेफ मनोजकुमार बस्नेत र सहायक प्राविधिक प्रशिक्षक रोशन केसीले सहजीकरण गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय