अछाम । अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेकाे छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेकाे प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।

सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ५४ संवेदनशील र २१ सामान्य रहेकाे प्रजिअ मरासेनीले बताए । 

विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता तथ्यलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हाे । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा योजना तयार गरिएको छ । 

मतदान स्थलमा एक हजार चार सय ९० म्यादी प्रहरी परिचालन हुनेछन् । कमलबजार, मंगलसैन र साँफेबगर नगरपालिकामा नेपाली सेनाको बेसक्याम राखिने प्रजिअ मरासेनीले बताए । यस्तै, सुरक्षा दृष्टिकोणले एक निर्वाचनस्थलमा कम्तिमा आठ र बढी १५ जना प्रहरी परिचालन र नगरपालिका दुई र गाउँपालिकामा तीन सशस्त्र प्रहरी मोबाइल टोली खटाइने छ ।

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको अछाममा दुई सय सात वटा मतदान केन्द्र छन् । यहाँ एक लाख ५६ हजार दुई सय ८० मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय