सिन्धुपाल्चोक । ‘लायन्स क्लब अफ मेलम्ची’ले असार ३ गतेको आगलागीबाट प्रभावित मेलम्ची ७ दुवाचौरका उद्धव सुवेदीलाई आर्थिक सहयोग गरेको छ । 

फरक क्षमता भएका सुवेदीको गत असार ३ गते बस्ने टहरामा आगलागी भएको थियो । आगलागी बाट अन्नपात ,भाडा, पैसा, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । बौद्धिक अपाङ्गता समेत रहेका सुवेदीलाई आइतबार मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङको रोहबरमा रु २० हजार २० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

क्लबका अध्यक्ष सुवास बानियाँ , उपाध्यक्ष विजयकृष्ण श्रेष्ठ , सचिव तारा बानियाँ , सदस्यहरू सुरेन्द्र सुनार  तथा राममणि गौतम लगायतले सहयोग हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तामाङले क्लबको काम प्रति आभार व्यक्त गर्नुभयो । 

क्लबले विगतमा पनि विभिन्न समस्यामा परेका हरूलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो । यसअघि सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट ५० हजार र रेडियो मेलम्चीको समन्वयमा सङ्कलित २५ हजार रुपैयाँ हस्तान्तरण गरिसकिएको छ भने विभिन्न व्यक्ति तथा संस्थाहरूले केही दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

आगलागी पीडित सुवेदीको पुर्नबासको लागि सहयोगी निकायहरूलाई आह्वान समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय