विशाल आचार्य

सिन्धुपाल्चोक । वर्षायाम सुरु भएसँगै दिलकुमार नेपालीको मनमा चिसो पस्न थालेको छ । उनी अझै पनि ढुक्कले निदाउन सकिरहेका छैनन् । उनको मस्तिष्कमा अझै पनि असार १ गतेको घटना घुमिरहन्छ । जस्ताको टहरा मुनि जीवन गुजारा गरिरहेका नेपाली पानी पर्दा, आकाश गर्जँदा तर्सिन्छन् । उनी फेरी असार १ गतेको कालो दिन न आओस् भनेर प्रार्थना गरिरहेका छन् । 

बेला बेलामा विज्ञहरूको मेलम्ची बाढी फेरी दोहोरिने सङ्केतले उनी झसङ्ग हुन्छन् ।  फेरि पनि त्यहीँ कालो दिनको सामना गर्नुपर्ने त हैन ? उनको मथिङ्गल खलबलिइरहन्छ । जस्ताको टहरा मुनि जीवन गुजारिरहेका उनी सरकारले पीडितहरूलाई केही नगरेको गुनासो गर्छन् । नेताहरूको खोक्रो अर्थहीन भाषण सुन्दा सुन्दा वाक्क बनिसकेका उनी सरकारले पीडितहरूलाई केही नगर्ने बताउँछन् ।

बाढीको एक  वर्ष पूरा ः पीडितहरूका उजाड जिन्दगी
​​​​​​​मेलम्चीमा ठुलो ढलान घर बनाउने सपना बोकेर साउदी पसेका शान्तिराम लुइँटेल ढलपलको अवस्थामा रहेको आफ्नो घर हेरेर अझै टोलाई रहन्छन् । न उनलाई कुनै काम गर्ने जाँगर छ न त कहीँ कतै गएर कमाउने नै ! २ वर्ष विदेशमा कमाएको पैसाले गाउँमा पसल थाप्ने उनको सोच बाढीको प्रकोपसँगै अधुरै रह्यो । “विदेशमा २० घण्टा काम गरेर कमाएको पैसा सबै सकियो । गाउँमा आएर के के न गरौँला भनेको गरिहालियो नि !”, रुन्चे हाँसो स्वरमा उनले भने, “काम गर्ने जाँगर पनि हराएर आयो । न सरकारले केही हेर्छ । गरौँला भनेको त सुनियो तर गरेको केही छैन । बाढी आएको १ वर्ष पुरा भइसक्यो ।”, उनले भने । 

शान्तिरामको भन्दा फरक छ सन्तोषी खड्काको वेदनाको कथा । ६ जनाको परिवार रहेको सन्तोषीको पारिवारिक जीवन दुख सुख चलिरहेकै थियो । बस्नलाई एउटा घर र खेती गर्नलाई मेलम्चीमा जमिन थियो । तर, उनको जीवनमा २०७२ वैशाख १२ गते बिर्सन नसक्ने दिन बन्यो । उनले भूकम्पमा दुई छोरा र दुई छोरी गुमाउनु पर्‍यो । उनको घर भूकम्पमा भत्कियो । तर, खेती गर्नलाई जमिन भने थियो । उनी दुखसुख गुजारा गरेर मेलम्चीमै बसिरहेकी थिइन । 

तर, २०७८ असार १ उनको जीवनमा कालो बादल मडारिएर आयो । उनले दुखसुख गरेर भूकम्प पछिको घर र खेती गर्ने जमिन बगरमा परिणत भयो ।  त्यसपछि उनी काठमाडौँ आइन । सरकारले घर बनिइदिन्छ कि भन्ने आशाले बाढी आएको ६ महिनासम्म मेलम्ची बसेकी उनी घर नबन्ने भएपछि काठमाडौँ आएकी हुन् । 

सरकारले गरिबहरूका लागि केही नगरेको उनी गुनासो गर्छिन् । उनी नेताहरू एउटा घर मात्र बनाइदिए पनि नेताहरूको भलो हुने बताउँछिन् । “नेताहरूले टाउको लुकाउन मात्र एउटा घर बनाइदिए नि भलो हुने थियो ।”, उनले भनिन् ।

नेताहरूको खोक्रो विकासे भाषणको धङधङी
मेलम्चीमा बाढी आएपछि नेताहरू मेलम्ची नगएका भने होइनन् । केही न केही विकासे भाषणको धङधङी बोकेर मेलम्ची पुगेकै हुन्छन् । हेलम्बु मेलम्ची क्षेत्रलाई उथल् पुथल् पारिदिने खोक्रा भाषण सुन्दा सुन्दा पीडितका कान पाकिसके । तर, बाढी आएको १ वर्ष पूरा हुँदा समेत पीडितहरूले केही पाउन सकेका छैनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आएर बाढी पीडितलाई दिन्छु भनेको ५ लाख पनि सत्ता परिवर्तन र राजनीति कारणले पीडितहरूले पाउन सकेका छैनन् ।

सीमानामा  पुल नै बनेनन्
मेलम्ची बाढीले बगाएको ३ वटा पुल मध्ये चनौटेमा बेलिबृज र नाकोतेमा झोलुङ्गे पुल बाहेक अरूमा ढ्वाङ मात्र हालेर सवारी साधन आवतजावत गराइरहेको छ । मेलम्ची, इन्द्रावती र पाँचपोखरीको सिमाना जोड्ने पुल नै नबन्दा पीडितहरू थप चिन्तित छन् । ढ्वाङ मात्र हालेर सवारी साधन आवत जावत गराइरहेको मेलम्ची, इन्द्रावती, पाँच पोखरी जोड्ने ढ्वाङ अस्तिको पानीले बगाइसकेको छ । योसँगै अब आवतजावतमा समस्या देखिएको छ । अब बाहुनेपाटीको पुलबाट मात्र आवतजावत हुन्छ । यसरी सिमानाको रूपमा रहेको पुल नबन्दा नागरिक चिन्तित बनेका छन् । तर, न स्थानीय तहले कुनै तदारुकता देखायो न केन्द्रीय सरकारले नै !  पटक पटक सडक विभागलाई भन्दा पनि नगरेको जनप्रतिनिधिको गुनासो छ । यसरी १ वर्षसम्म पनि बाढी पीडितका नाममा सरकारले माखो नमार्नाले पीडितहरू चिन्तित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय