काठमाडौँ । ​​​​​​​नेपालमा विगत एक दशकको आँकडा हेर्दा घातक विमान दुर्घटनाहरू धेरैजसो मानवीय त्रुटिका कारण भएको उड्डयन नियामकले बताएका छन्।

दुर्घटनापछाडि इन्जिनले काम नगरेकोजस्ता यान्त्रिक कारण शून्यप्रायस् भएको बरु व्यवस्थापकीय पक्षमा चुक्दा दुर्घटनाहरू भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अधिकारीको भनाइ छ।

उनीहरूले त्यस्ता मानवीय त्रुटिलाई कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनको काममा जोड दिइएको बताएका छन्।

सन् २०११ देखि २०२० को अवधिमा विमानहरूका हकमा घातक दुर्घटनादर घटेको पाइए पनि हेलिकप्टरका हकमा भने दुर्घटनादर बढ्दो क्रममा देखिन्छ।


मानवीय त्रुटि
पछिल्लो दशकको तथ्याङ्क केलाउँदा धेरैजसो दुर्घटना जहाज नियन्त्रणमा हुँदाहुँदै पनि डाँडामा ठोक्किएर भएको देखिएको छ।

यस्ता प्रकृतिका दुर्घटना एक तिहाइ छन्। तर पनि त्यसमा परेर ज्यान गुमाउनेहरू तीन चौथाइभन्दा धेरै रहेको क्यानको पछिल्लो उड्डयन सुरक्षा प्रतिवेदनले औँल्याएको छ।

त्यसपछिको अर्को मुख्य कारणका रूपमा विमान चालकले उडानका बखत सामना गर्ने प्राविधिक वा अन्य परिस्थितिजन्य अवस्थाले जहाजलाई नियन्त्रणमा राख्न नसक्नु भएको प्रतिवेदनले देखाएको छ।

नेपालमा हवाई दुर्घटना (सन् २०११-२०२०)

​​​​​​​​​​​​​​स्रोत: नेपाल नागरिक उड्डयन प्राधिकरण

नियामक अधिकारी यस्तो अवस्थालाई मानवीय त्रुटि बताउँछन्।

क्यानका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले त्यस्ता त्रुटिको जड पछिल्लो समय व्यापक दायरामा खोज्न थालिएको बताउँछन्।

अहिले हामी त्यस्ता दुर्घटनाको कारण व्यवस्थापनबाटै सुरु भएको सोचेर अनुसन्धान गर्न थालेका छौँ, उड्डयन सुरक्षा नियमन गर्ने जिम्मेवारीमा रहेका कर्ण भन्छन्।

अब पाइलट मात्र नभएर ग्राउन्ड इन्जिनियरहरूले गरेका काम, तौलका हिसाबकिताब गर्ने कामदेखि व्यवस्थापनका नीतिसम्म हेर्छौँ। दुर्घटना यी जुनकुनै पक्षमा चुक हुँदा हुन्छ।

सम्भावित जोखिम र परिस्थितिसँग अभ्यस्त गराउनका लागि पाइलटलाई अहिले ६,६ महिनामा सिमुलेटरमा अभ्यास गर्नुपर्ने नियमलाई कडाइ गरिएको बताइएको छ।

हेलिकप्टरमा बढ्दो
सन् २०१३ यता युरोपेली सङ्घ ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ जुन अझै कायम छ।

त्यसअघिका वर्षमा नेपालमा धेरै हेलिकप्टर दुर्घटना भइरहनु त्यस्तो प्रतिबन्ध लाग्नुको एउटा मुख्य कारण रहेको जानकारहरू ठान्छन्।

त्यसमा सुधार नदेखिएको भन्दै ईयू अधिकारीहरूले चासो राखे तापनि नेपाली पक्षले यसअघि त्यसलाई मूलधारको हवाई यातायातका रूपमा नबुझ्नु आग्रह गरेको अधिकारीहरूले बताउने गरेका छन्।

हवाई क्षेत्रका एकजना विज्ञ नारायणबहादुर सिंह डङ्गोलले हेलिकप्टरहरू अनियन्त्रित हवाई आकाशुमा उड्ने भएकाले उनीहरूलाई अनुशासनमा बाँध्ने काम चुनौतीपूर्ण रहेको बताउँछन्।

भीएफआर भनिने आँखाले हेर्दै गरिने उडानमा बादलभित्र छिर्नै हुँदैन बरु त्यससँग दूरी कायम राखिराख्नु पर्छ भनिन्छ। तर पाइलटहरू बढ्ता आत्मविश्वासी हुने गर्छन् र ती नियम तोड्ने गरेका छन्।

डङ्गोलका अनुसार हेलिकप्टरका हकमा पूर्ण रूपले विमानस्थलहरूबाट नियन्त्रित सेवा नभई सूचना मात्र दिइनेु भएकाले सुरक्षित उडानका लागि पाइलटहरूको विवेकमा धेरै कुरा निर्भर रहन्छ।

हेलिकप्टर पाइलटहरूले जोखिम लिइरहने, त्यसको नियमन र कारबाहीहरू राम्ररी हुन नसक्ने हो भने त हाम्रोजस्तो जटिल भौगोलिक अवस्था भएको देशमा दुर्घटना दोहोरिरहन्छ,नेपालका कयौँ विमानस्थलमा साढे तीन दशक बिताएका पूर्व वरिष्ठ एअर ट्राफिक कन्ट्रोलर डङ्गोलको भनाइ छ।

आईएफआर भनिने यान्त्रिक उडानका हकमा भने पूर्ण रूपले कन्ट्रोल टावरहरूले विमानलाई नियन्त्रण र सघाउने काम गर्छन्।

क्यानका एकजना प्रबन्धक लक्ष्मण देवकोटाले जस्तोसुकै स्वरूपको उडान भए तापनि विमानहरू निरन्तर कन्ट्रोल रुमसँग सम्पर्कमा रहनै पर्ने बताउँछन्।

सरकारले हवाई सुरक्षा समस्याबारे गत असोजमा गठन गरेको अध्ययन समितिमा सदस्यसचिव रहेका उनले भने, हेलिकप्टरले समेत जानकारी अपडेट गराइराख्नुपर्छ।

हवाई दुर्घटना कम गर्ने उपाय
पहाडी क्षेत्रमा मौसममा छिटोछिटो परिवर्तन देखिने भएकाले त्यहाँ तत्काल त्यसको जानकारी पाउने सूचना प्रणालीको आवश्यकता औँल्याइने गरेको छ।

गएको दशकमा भएका हेलिकप्टर बाहेकका १९ विमान दुर्घटनामा १६ वटा छोटो धावनमार्ग हुने पहाडी विमानस्थल तर्फका हवाई मार्गमा भएको देखिन्छ।

यस्तो देखिएपछि त्यस्ता विमानस्थलमा मात्र नभएर आसपासका क्षेत्रमा जडित मौसम निगरानी क्यामेरामा विमान कम्पनीहरूलाई समेत पहुँच दिन थालिएको क्यानका अधिकारीहरू बताउँछन्।

अचानक विकसित खतराजन्य अवस्थाहरू तत्काल एक अर्कालाई थाहा दिन सकियोस् भनेर हामीले सामाजिक सञ्जालमा समूहहरू बताएर त्यसमा सम्बन्धित पाइटल, प्राविधिक र व्यवस्थापकहरूलाई राखेका छौँ, उपमहानिर्देशक कर्ण थप्छन्।

नेपालको भौगोलिक अवस्था र मौसमी विविधताका कारण सूचनालाई पर्खने सुविधा छैन। र यो अवस्थालाई सम्बोधन गर्दा धेरै दुर्घटना छल्न सकिन्छ।

कयौँ पहाडी विमानस्थलतर्फ उड्ने क्रममा निश्चित बिन्दु पार गरेपछि फर्कने सुविधा नहुने भएकाले स्थानीय मौसमको तत्काल दिने काम जानकारी जीवनदायी हुने जानकारहरूको भनाइ पाइन्छ।

बीबीसी नेपालीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय