सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखार गाउँपालिका–७, साविक पेट्कु गाविसमा वि.सं. २०२७ साल फागुन १३ गते जन्मिएका उनी दीर्घकालीन राजनीतिक संघर्षबाट खारिएका नेता हुन्। २०४२ सालदेखि अनेरास्ववियु हुँदै राजनीतिमा सक्रिय बनेका उनले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरी गाउँ सक्रिय दलको अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन निर्माणको आधार तयार पारे। विद्यार्थी राजनीति हुँदै पार्टी संगठनसम्म निरन्तर सक्रिय रहँदै आएका उनी तल्लो तहदेखि नेतृत्वमा पुग्ने नेताको उदाहरण मानिन्छन्।
२०४९ देखि २०५१ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेका उनले युवापुस्तालाई संगठित गर्दै जिल्लामा संगठन विस्तारमा योगदान दिए। २०५२ देखि २०५५ सालसम्म पार्टी इलाका कमिटीको उपसचिव र सचिवको जिम्मेवारी सम्हाल्दै संगठनलाई मजबुत बनाउने काम गरे। २०५५ सालदेखि पार्टी जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय उनी २०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित हुँदै जनताको प्रत्यक्ष विश्वाससमेत प्राप्त गर्न सफल भए।
उनले २०५९ देखि २०६५ सालसम्म क्षेत्रीय समन्वय कमिटीको संयोजक र २०६६ देखि २०६९ सालसम्म क्षेत्रीय कमिटी अध्यक्षको जिम्मेवारी सम्हाले। २०६९ देखि २०७८ सालसम्म पार्टी जिल्ला कमिटी सचिवका रूपमा काम गर्दै संगठनात्मक अनुशासन, कार्यकर्ता परिचालन र पार्टी सुदृढीकरणमा सक्रिय भूमिका खेले। २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनले पालिकामा नेतृत्व रहँदा विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको मूल्याङ्कन गरिएको छ।
२०७८ देखि २०८० सालसम्म पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनी हाल केन्द्रिय सदस्यको उम्मेदवारका रूपमा अघि बढेका छन्। पार्टी सुदृढीकरण, संगठन निर्माण र पार्टीलाई बृहत बनाउने उनको मुख्य एजेन्डा रहेको छ। साधारण जीवनशैली, सबैसँग मिलनसार व्यवहार र पार्टीप्रति निरन्तर सक्रिय भूमिकाका कारण उनी कार्यकर्ता र आम जनतामाझ भरोसायोग्य नेताका रूपमा परिचित छन्। जिल्लादेखि पालिकासम्म सफल नेतृत्व दिएको अनुभवका आधारमा उनको केन्द्रिय भूमिकाबाट पार्टी थप सशक्त हुने अपेक्षा गरिएको छ।
