सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छी लामाले गाउँपालिकाको लेटर हेडमा मनलागि गरेकी छिन् । 

आफ्ना आसेपासे र कार्यकर्तालाई भर्ती गर्न उनले गाउँपालिकाको लेटर हेडमा ८ जना सडक हेरालु चाहियो भन्दै पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकलाई चिठी काटेकी छिन् । 

स्थानीय सरकार सञ्चालन ऐनको सामान्य हेक्का पनि नराखी उपाध्यक्ष लामाले गाउँपालिकाको लेटर हेडको दुरुपयोग गरेकी हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गाउँपालिका अध्यक्षलाई १३ वटा कामको अधिकार दिएको छ भने उपाध्यक्षलाई उक्त ऐनले आठ वटा काम,कर्तव्य र अधिकार दिएको छ । उपाध्यक्ष लामाले भने आफ्नो अधिकार क्षेत्र बाहिर गएर कार्यकर्ता भर्ती गर्न लेटर हेडको दुरुपयोग गर्दै पूर्वाधार विकासमा चिठी काटेकी हुन् । 

शुभटाइम डटकमले उपाध्यक्ष लामासँग कुराकानी गर्दा पालिकामा कोही नभएकाले आफूले चिठी काटेको बताइन् । ‘गाउँपालिकामा कोही नभएपछि चिठी काटेको हुँ,मेरो काम त न्यायिक समितिको हो त्यही गर्छु बस्छु’,उनले भनिन् । लामाले आफूले जनताको गुनासो र बाटोको अवस्था देखेर चिठी काटेको बताइन् । 

गाउँपालिका अध्यक्षको अनुपस्थितिमा वा गाउँपालिका अध्यक्षले जिम्मा दिँदा मात्रै उपाध्यक्षले गाउँपालिकाको लेटर हेड प्रयोग गरेर सरकारी वा गैरसरकारी कार्यालयहरूमा पत्र पठाउन पाउने नियममा व्यवस्था छ । 

यस विषयमा गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनालाई शुभटाइम डटकमले सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । 

विभिन्न कार्यालयमा पत्र पठाउँदा वडासँग सम्बन्धित भए वडाध्यक्ष र गाउँपालिकासँग सम्बन्धित छ भने प्रमुख प्रशासकीय अधिकृत वा त्यस्तै अवस्थामा मात्रै अध्यक्षले गाउँपालिकाको लेटरप्याडमा पत्र पठाउने नियममा छ । बाहिर पठाउने पत्रहरूमा प्रमुखले मात्रै पठाउनु पर्ने भएपनि  उपाध्यक्ष लामाले आफ्नो अधिकार क्षेत्र बाहिर गएर पत्र पठाउने काम गरेकी छन् ।

सुनकोसी गाउँपालिका उपाध्यक्ष लामाले पत्र सङ्ख्या २०८०/८१, चलानी नम्बर ४९ राखेर मिति २०८० साउन १६ गते पूर्वाधार कार्यालय चौतारा लाई सडक हेरालु राखिदिन भन्दै पत्र पठाएकी थिइन । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्र बाहिर गएर पूर्वाधार कार्यालयलाई पत्र पठाएपछि पूर्वाधार कार्यालयले समेत उक्त अवैधानिक पत्र स्वीकार गरेको छ । 

सुनकोसी गाउँपालिकामा अघिल्लो कार्यकालमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष,उपाध्यक्ष लगायत बहुमत वडाध्यक्षमा जित हासिल गरेको थियो । अघिल्लो कार्यकालमा अध्यक्ष श्रवणकुमार जिसी विदेश भ्रमणमा जाँदा कार्यवाहक समेत उपाध्यक्ष लक्ष्मी पौडेललाई नदिईकन,वडा नम्बर १ का अध्यक्ष नेत्र कार्कीलाई दिइएको थियो । ५ वर्षको अघिल्लो कार्यकालमा अध्यक्ष जिसीले उपाध्यक्ष पौडेललाई पुरै बेवास्ता गरेर उपाध्यक्षले पाउनु पर्ने सेवा सुविधा मात्रै होइन स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार समेत उपयोग गर्न पाएकी थिइनन् । तर अहिलेको उपाध्यक्ष लामाले भने आफ्नो अधिकार क्षेत्र बाहिर गएर विभिन्न सरकारी गैर सरकारी कार्यालयहरूमा अवैधानिक पत्र पठाउँदै हिँडेपछि गाउँपालिकाका कर्मचारीहरू समेत अच्चममा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय