सिन्धुपाल्चोक । मेलम्ची बाढीले बगाएको मेलम्ची स्थित फट्टेमा मेलम्ची नगरपालिकाले आफ्नै लागतमा ‘मोटेरेबल पुल’ निर्माण गर्ने भएको छ । 

बाढी आएको दुई वर्ष बितिसक्दा पनि पुल बन्ने अत्तोपत्तो नभएपछि नगरपालिका आफैले पुल निर्माण गर्न लागेको हो । 

केन्द्र र प्रदेशमा रहेका बहालवाला मन्त्री र सांसदहरूले पुल बनाउन कुनै तदारुकता नदेखाएपछि नगरपालिका आफै पुल निर्माणमा जुटेको हो । 

बाढी आएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि यहाँबाट निर्वाचित भएका सांसद र बहालवाला मन्त्रीले धाक र खोक्रो आश्वासन मात्रै बाढेपछि नगरपालिकाले मङ्गलवार पुलको सम्भाव्यता अध्ययन गरेको छ ।  

बाढी आएको यतिका वर्ष बितिसक्दा पनि विकासको नाममा देखावटी गर्ने बाहेक केही नगर्ने नेताहरूले मेलम्चीवासीलाई गिज्याइरहेका छन् । 

विकासे भाषणको धङधङी

मेलम्ची बाढी पीडितका घाउँमा नुन छर्किन नेताहरू कुनै न कुनै विकासे भाषणको  धङधङी लिएर मेलम्ची पुगेकै हुन्छन् । खोक्रा अर्थहीन भाषण लिएर पुगेका उनीहरू बाढी पीडितलाई दिवा सपना देखाउन भने छुटाउँदैनन् । सपना बाढ्छन्,गिज्याइरहन्छन् ।   

मेलम्ची बाढी आउँदा एमालेबाट निर्वाचित भएका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री थिए । स्वास्थ्यमन्त्री भएकै बखत हेलिकोप्टर बोकेर कहिले हेलम्बु त कहिले मेलम्ची पुग्नेबाहेक उनले केही गर्ने सकेनन् । तेस्रो पटक चुनावमा प्रतिस्पर्धा गरेका उनको आश्वासन र ढाडसलाई  क्षेत्र नम्बर २ का जनताले पत्याउन सकेनन् । 

मेलम्चीलाई उथलपुथल बनाइदिने विकासे भाषणको धङधङी त मेलम्ची वासीले बारबार सुन्दै आएका हुन् । उनीहरूका लागि मेलम्ची उथलपुथल पारिदिने भाषण नयाँ र नौलो हुँदै होइन । फेरी पनि मेलम्चीवासी नयाँ पात्रबाट मेलम्चीलाई उथलपुथल पारिदिने विकासे भाषणको धङधङी सुन्न बाध्य छन् । 

संयोग नै मान्नुपर्छ चुनाव लगत्तै क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका सांसद मोहन बहादुर बस्नेत पनि स्वास्थ्यमन्त्री नै बने । पात्र फेरिए पनि आश्वासनको चाङ भने रोकिएन । 

दुई वर्षभित्र मेलम्ची बाढीले बगाएको पुल जस्ताको तस्तै बनाइदिने ढाडस दिएका मन्त्री बस्नेतले एउटा बेलिबृज उद्घाटनको ‘जस’ पनि राम्रोसँग लिन पाएनन् । मेलम्ची नगरपालिकाको आग्रह र सडक डिभिजनको बजेटमा नेपाली सेनाले निर्माण गरेको मेलम्चीको बेलिबृज उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा पनि लफडा झिके । ‘काम गर्ने कालु मकै खाने भालु’, भने झैँ मोहनको ‘बोक्रे धाक’ मा मेलम्ची नगरपालिका जिल्ल पर्‍यो । स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने पुल सङ्घीय सरकारका स्वास्थ्यमन्त्री आफैँले लिएपछि नगरपालिका मात्रै होइन आम जनता नै बिलखबन्दमा परे । 

यसो त मेलम्ची नगरपालिकाले मोहन बहादुर बस्नेतको धक्कुमा बज्र प्रहार गरेको छ । झुटा आश्वासनै आश्वासनले गिज्जिरहेका मेलम्ची वासी नगरपालिकाले आफ्नै लागतमा फट्टेमा पुल निर्माण गर्ने निर्णय गरेपछि मेलम्चीवासी दङ्ग देखिएका छन् । 

मोहन र आइतमानको टसल 

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा टिकट नपाएपछि रन्थनिँदै क्षेत्र नम्बर दुईमा सरेका मोहन बहादुर बस्नेत बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । देउवा निकट रहेका बस्नेत आफू र आफ्ना आसेपासेबाहेक कसैलाई देखिसहँदैनन् । आफ्नो ‘जयजयकार’ लगाउनेलाई मात्रै मान्छे देख्ने बस्नेत र तामाङ फरक समूहका नेता हुन् । मेलम्ची बेलिबृज उद्घाटनमा नबोलाएपछि रुष्ट बनेका मेयर तामाङ बस्नेतका आनीबानी प्रति खासै रुचि राख्दैनन् ।

गफ भन्दा काममा बढी विश्वास राख्ने तामाङले नगरपालिकाकै लगानीमा पनि पुल बन्छ भन्ने प्रमाणित गरिदिएका छन् । आफ्नै दलबाट निर्वाचित भएका सांसद र मन्त्रीले मेलम्चीलाई बेवास्ता गरेपछि तामाङले आफैँ पुल बनाउने प्रयासमा जुटेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय