सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका सन्तबहादुर माझीको आजभोलिको दैनिकी खेतीवारिमा बित्ने गर्छ । सात वर्षौँदेखि भारतको तातो घाममा जीवन गुजारेका उनी नेपाल फर्किएसँगै कृषि पेसामा आकर्षित भएका हुन् । 

आर्थिक स्थितिले परिवार पाल्नै धौ-धौ भएपछि भारत हाँकिएका उनी अहिले गाउँमै कृषि गरिरहेका छन् । झन्डै तीस रोपनी जग्गामा काउली,आलु,गोलभेँडा खेती गरिरहेका उनी आफू गाउँमै खुसी रहेको बताउँछन् । ‘भारतको ताता घाममा पसिना बगाउनु भन्दा गाउँको माटोमा पसिना बगाउनु फरक हुँदो रहेछ’,उनले भने । 

नेपाल फर्किएपछि सानो क्षेत्रफलमा तरकारी खेती सुरुवात गरेका उनले अहिले झन्डै तीस रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । मासिक एक लाखसम्म कमाउने गरेको बताउने माझीले अब गाउँ छाडेर कतै नजाने सुनाए । ‘गर्‍यो भने महिनामा एक लाखसम्म कमाइन्छ । अब विदेश किन जानु गाउँमै बस्छु काम गर्छु’,उनले भने । उनी अब तरकारी खेतीबाहेक गाई पालन गर्ने तयारी गरिरहेको बताउँछन् । ‘व्यवसाय यसरी नै गयो भने अब २० वटा जति गाई पालौँ कि भन्ने सोच आएको छ’,उनले सुनाए । 

भारतमा ७ वर्ष पसिना बगाएका माझी गाउँमा पसिना बगाउनुमा मक्ख देखिन्छन् । उनले अहिले ५ जनालाई रोजगारी समेत दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय