सिन्धुपाल्चोक । गुड ह्याण्डस नेपालले सिन्धुपाल्चोकको एक विद्यालयको विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ४ रहेको इष्ट पोइन्ट एकेडेमिका ४५० जना विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरिएको गुड ह्याण्डस नेपालका अध्यक्ष दावा लामा ह्योल्मोले जानकारी दिनुभयो ।

जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने विद्यालयका पिन्सिपल दामोदर भारतीले बताउनुभयो । उहाँले संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयमा सहयोगको अपेक्षा गर्नुभयो । उहाँले विद्यालयलाई अठ्यारो पर्दा विगतका दिनमा राहत उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनमा विद्यालय पुर्ननिमार्णमा सहयोगका लागि संस्थाले गरेको प्रतिबद्धताले आफुलाई हौसला र प्रेरणा मिलेको बताउनुभयो । संस्थाले एक विद्यार्थी एक स्वीटर उपलब्ध गराएको हो । स्वीटर वितरण गर्दै संस्थाका अध्यक्ष ह्योल्मोले समाजसेवाको कामलाई निरन्तरता दिने बताउनुभयो ।

ह्याण्ड्सले विगतका दिनमा पनि शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । संस्था विद्यालय पुर्ननिमार्ण, शिक्षक सहयोग, न्यानो कपडा वितरण देखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशिल रहेको अध्यक्ष ह्योल्मोले जानकारी दिनुभयो । यसअघि पनि इष्ट पोइन्ट एकेडेमिलाई बाढीले विद्यालय तहसनहस बनाउँदा २ वटा ठुलो टेण्ड, जस्तापाता खरिदका लागि १ लाख रुपैयाँ समेत सहयोग गरेको विद्यालयले जनाएको छ । वितरण कार्यक्रममा अध्यक्ष ह्योल्मोले विद्यालय पुर्ननिमार्णमा आफुले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जाडो समयमा स्वीटर पाएपछि विद्यार्थीहरु खुसी हुँदै प्रफुल्ल भएको विद्यालयकी शिक्षिका भवानी ढुंगानाले बताउनुभयो ।

बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको संस्थाले मानवीय सेवालाई निरन्तरता दिन विद्यार्थीलाई सहयोग गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय