दिपक अर्याल सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक जिल्लाको सदरमुकामसमेत रहेको नगरपालिका हो । यस नगरपालिका विगतका दश वटा गाविसहरूलाई मिलाएर बनाएको नगरपालिका हो । जसमा १४ वटा वडाहरू रहेका छन् । चौतारा नगरपालिकाको भौगोलिक अवस्थालाई हेर्ने हो भने खानेपानीको समस्यालाई त्यहाँका जनताले लामो समयदेखि झेल्दै आइरहेका छन् । नगरपालिकाको १४ वटा वडाहरूमा नै खानेपानीको प¥याप्त मुहानहरू नरहँदा खानेपानी समस्या विकराल भएको हो । 

जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिकाका पाँच नम्बर वडाले अझै धेरै समस्या झेल्दै आएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको पहिलो नेतृत्वले विकासको गतिलाई तीव्रता दिएता पनि खानेपानीको हकमा भने कम महत्वमा राखेर काम गरेको आम जनताको बुझाई छ । विकासमा लागि पहिलो नगरप्रमुख अमान सिंह तामाङको नेतृत्वको कार्यपालिकाले विषेसत भौतिक संरचना निर्माण कार्य गर्दै आएको थियो । सडक स्तर उन्नति, कालोपत्रे, वडा, नगर कार्यपालिकाको भवन निर्माण, स्वास्थ्य संस्थाहरूको भौतिक संरचनाको निर्माण, विद्यालय भवनहरूको निर्माणमा बढी जोड दिएको देखिन्छ । विगतका अधुरा योजनाहरूलाई सम्पन्न गराउनको लागि चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख कृष्णप्रसाद सापकोटाको नयाँ नेतृत्व लागि परिरहेको छ । 

सिन्धुपाल्चोक जिल्ला हिमाली जिल्लाअन्तर्गत भनिए पनि यो जिल्ला हिमाल पहाड तराई तीन वटै क्षेत्रको मौसमको अनुभूत गर्न सकिने जिल्लाको रूपमा लिन सकिन्छ । यो अवस्थाको सम्पूर्ण प्रतिनिधित्व चौतारा साँगाचोकगढी नगरपालिकाले पनि गर्दछ । चौतारा नगरपालिकाको वडा नम्बर एकदेखि चौधसम्मकै भौगोलिक बनावट हेर्दा फरक फरक पाउने गरिन्छ । चौतारा साँगाचोकगढी नगरपालिकाको  आन्तरिक आएका श्रोतहरू गिट्टी, बालुवा, मालपोतको कर, घर जग्गाका राजस्व, कृषि, तरकारी ,दूध आदि छन् । नगरपालिका भित्रका 

स्थानीयहरू कृषिमा निर्भर रहनेहरूको ठुलो सङ्ख्या रहेको छ । तर पर्याप्त सिँचाइका लागि पानीको स्रोत नभएकाले पनि कृषि क्षेत्रबाट सोचे जस्तो आय आर्जन हुन सकेको पाइँदैन ।  

चौतारा साँगाचोकगढी नगरपालिकामा कृषि उत्पादनलाई हेर्ने हो भने अधिकांश भु–भागमा फरक किसिमका अन्न बालीहरू उत्पादन हुने गर्दछ । एक, दुई, तीन लगायतका वडाहरूमा विषेशत मकै कोदो उत्पादन हुने गर्दछ भने दश, एघार, बाह्रलगायतमा मकै कोदो सँगसँगै धान पनि उत्पादन हुने गर्दछ । राजधानी सँग जोडिएको जिल्लाको सदरमुकामको जिल्ला भए पनि भौगोलिक विकटताका कारण विकास निर्माण कार्य भने मन्द गतिले भएको देखिन्छ ।  

विगतको नेतृत्वले भौतिक पूर्वाधारका विषयमा केही हदसम्म विकास सम्झौता गरेता पनि खानेपानीलगायतका विषयमा भने त्यति चासो देखाएको थिएन । आम जनताको गुनासो बढेसँगै नगरपालिकाले खानेपानीको समस्यालाई विशेष ढङ्गले हेरेको हो । 

खानेपानीको समस्याले विगतमा खेप्नुसम्मको हैरानी खेपेकी चौताराकी हरिमाया तामा अहिले घरमै धारो आएपछि दङ्ग देखिएकी छिन् । पानी बोक्दा बोक्दा वाक्कै बनिसकेकी  शान्ताको घरमै धारा आएपछि दैनिकी फेरिएको छ । चौतारासागाचोकगढी नगरपालिकाको “एक घर एक धारा अभियान” अन्तर्गत हरिमायाको घरमा धारो बनेको हो । नगरपालिकाकाले धारो बनाइदिएपछि हरिमायाको खुसी पनि बेग्लै छ । उनी अहिलेको नेतृत्वले सर्वहारा वर्गको प्रतिनिधित्व गरेको बताउँछिन् । उनी भन्छिन्,“अहिलेको नेतृत्व आएपछि हाम्रा दुख चैँ बुझेको छ । गरिबको दुख बुझे हुन्छ अरू केही पर्दैन ।” हरिमायाको नगरपालिकालाई अर्को सुझाव छ,“धारो त आयो अब सधैँ पानी आउने वातावरण चैँ हुनुपर्छ ।”

हरिमायाको भन्दा कत्ति फरक छैन मैया थापाको खुसी र पीडा पनि । विगतमा खेप्नुसम्मको सास्ती झेलेकी मैया अहिले आफ्नै आँगनमा पानी आएपछि दङदास देखिएकी हुन् । “हाम्लाई त यहीँ ठुलो कुरा हो आँगनमै धारा दैलोमै पानी,”उनले दङ्ग हुँदै सुनाइन् । चार जनाको परिवार रहेको बताउने मैयाँलाई आजभोलि कामको भार पनि कम भएको छ । “पहिले पहिले त पानी ओसार्दा ओसार्दै समय जान्थ्यो आजभोलि त अल्लि हलुगो भएको छ,”उनले भनिन् । 

हरिमाया र मैया यहाँका प्रतिनिधि पात्रहरू हुन् । नगरपालिकाले बनाइदिएको धाराले चौताराका आम जनताको मुहारमा खुसी छाएको छ । नगरपालिकाले एक घर एक धारा अन्तर्गत वडा नम्बर १ स्थित स्याउलेदेखि गुन्सासम्ममा १५३ वडा नम्बर ५.स्थित हुन्दु्रकमा २२,वडा नम्बर ७ स्थित सिरानचौरमा ८३ र वडा नम्बर १४ स्थित रानीटारदेखि असिनेमा १०८ गरी जम्मा ४८६ वटा खानेपानीको धारा निर्माण भएको छ । त्यस्तै नगरपालिकाले विभिन्न साइजमा गरी जम्मा ९५३२३ मि.पाइप खरिद गरी खानेपानी सेवा विस्तारमा प्रयोग गरिएको छ । नगरपालिकाले गत वर्षमा मात्रै नगरपालिकाभित्र ३९ वटा खानेपानीको ट्याङ्की निर्माण गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय