काठमाडौ । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१” को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिम र गण्डकी प्रदेश प्रहरी कार्यालय टिमबीच भएको पहिलो खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले बाजी मारेको छ । टस जितेर वलिंग रोजेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई ७६ रनमा समेट्न सफल भएको थियो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका पेश बलर कैलाश चन्द, हुकुमदेव साह तथा स्पिनर राजन भट्टराईले कसिलो बलिंग गरेपछि गण्डकी न्यून स्कोरमा समेटिएको थियो ।

गण्डकीका लागि सुमित महर्जनले सर्वाधिक २८ रन जोड्न सफल भए ।क्याप्टेन रामबहादुर थापा र इन्द्रमणी घिमिरेले समान १० रन जोड्नुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक बनाउन नसकेपछि कमजोर योगफलमा समेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय टिमले दिएको ७७ रनको लक्ष्य पछ्याएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । उसका लागि कप्तान राजन भट्टराईले सर्वाधिक २२ रन बनाएका थिए भने नरेन्द्र बहादुर चन्दले १८ तथा सागर कटुवालले १० रन बनाउन सफल भए । ४ ओभरमा मात्र ९ रन खर्चिएर ४ विकेट लिएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका बायॅा हाते पेश बलर कैलाश चन्द म्यान अफ दि म्याच हुन सफल भए ।


त्यसैगरी आजै भएको दोस्रो खेलमा मधेश प्रदेश प्रहरी कार्यालय टिमले कोशी प्रदेश प्रहरी कार्यालय टिमविरूद्द फराकिलो जित हासिल गर्न सफल भयो ।

“प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१” को ऐतिहासिक पहिलो शतक प्रहार गरेका दिपेश रायको आक्रामक शतकद्वारा बलियो योगफल तयार गरेको मधेशले १८९ रनको लक्ष्य दिएको थियो । २३ रनमा खेलिरहेका कप्तान कमलेस मण्डल धानुक रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका दिपेश सुरुवातबाटै आक्रामक देखिएका थिए । १६ बलमा अर्धशतक प्रहार गरेका उनले ३४ बलमा शतक पुरा गरेका थिए ।बलिंगतर्फ कोशीका दिपेश विश्वास २ तथा कलिम मन्सुरी र सागर राना मगरले समान १ विकेट हात पारे । १८९ रनको विशाल लक्ष्यसहित जवाफी व्याटिंगमा उत्रिएको कोशी प्रदेशको व्याटिंग लाइनलाई योगराज शर्मा र संजय साहको धारिलो बलिंगले धरासायी बनाएको थियो ।

मधेशका लागि योगराज शर्माले सर्वाधिक ४ विकेट तथा संजय साह, नवीन बैठा, कुन्दनकुमार झा र अजय ठाकुरले समान १/१ विकेट लिएपछि कोशी प्रदेश प्रहरी कार्यालय टिम १८ ओभर ५ बलमा मात्र ६४ रनमा सीमित भएको थियो । ४ चौका र ८ छक्कासहित नट आउट १०७ रन बनाएका दिपेश राय म्यान अफ दि म्याच घोषित भए ।

यसका साथै “प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१” को सेमिफाइनल समिकरण पुरा भएको छ । हिजो सम्पन्न खेलमा विजयी भएपश्चात सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय टिम र लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

सेमिफाइनल खेल शुक्रवार बिहान ०९ः०० बजे पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमबीच हुनेछ र दोस्रो खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले मधेश प्रदेश प्रहरी कार्यालय टिमको सामना गर्नेछ भने फाइनल खेल चैत्र २ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय