काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीले दुई दिने कार्यशाला सम्पन्न गरेको छ।

फागुन ९ र १० गते नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र, खरिपाटी,भक्तपुरमा दुई दिने कार्यशाला सम्पन्न गरेको हो ।

“नेपाल संस्कृत विश्वविद्यालयको रूपान्तरण: आन्तरिक सुधारसहित सर्वाङ्गिण विकासका लागि प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको संयुक्त कार्यशाला” नामक उक्त कार्यक्रममा अनेरास्ववियु राष्ट्रिय कमिटीका अध्यक्ष अनुप ढुङ्गेलको अध्यक्षता रहेको थियो।

अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष समिक कुमार बडालको प्रमुख अतिथ्यतामा पहिलो दिनको कार्यशाला सम्पन्न भएको थियो भने द्वितीय दिवसको समापन सत्रमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यसैगरी, अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्ती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यशालामा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा. डा. सुधन पौडेलले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त कार्यपत्र (आधारपत्र) प्रस्तुत गर्नुभएको थियो। उक्त आधारपत्र तयार गर्न अनेरास्ववियु राष्ट्रिय कमिटीले हरेक आङ्गिक क्याम्पसका विद्यार्थी, अध्यापक, तथा कर्मचारीहरूबाट समस्या, सुझाव र समाधानका लागि गुगल फारममार्फत व्यापक परामर्श संकलन गरेको थियो।

कार्यशालामा विभिन्न विषयका आठजना विशिष्ट विज्ञहरू रहेका थिए । जसमा प्रा. डा. सुधन पौडेल,प्रा. डा. भागवत ढकाल,स. प्रा. काशीनाथ पौडेल,प्रा. डा. बिरेन्द्र लाल कर्ण,प्रा. डा. लालमणि पाण्डे,प्रा. डा. मुकुन्द लामिछाने,प्रा. डा. बिष्णु दाहाल,प्रा. डा. रमेश घिमिरे,प्रा. डा. ऋषिराम रेग्मी,प्रा. डा. कृष्णकान्त पराजुली रहेका थिए ।

कार्याशाला विश्वविद्यालयका मूलभूत समस्याहरू पहिचान र समाधानका लागि ‘चतुर आर्यसत्य मोडल’ अनुरूप संचालन गरिएको थियो।

कार्यशालामा विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो। छलफलका निष्कर्षहरूलाई मूर्त रूप दिन विश्वविद्यालय रूपान्तरणका निम्ति १६ बुँदे संकल्प पत्र तयार पारिएको छ,जसमा विश्वविद्यालयका उपकुलपतिलगायत सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले हस्ताक्षर गर्दै विश्वविद्यालय सुधारका निम्ति प्रतिबद्धता जनाएका छन्।

उक्त कार्यशालाबाट तयार पारिएको प्रतिवेदन सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरी विश्वविद्यालय सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष अनुप ढुङ्गेलज्यूले कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय