मेलम्ची । मेलम्ची खानेपानी बाढी पिडित संघर्ष समितिले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिएको छ । गत अजोस ९ गतेबाट आन्दोलन सुरु गरेको समितिले मन्त्रालयमा बसेको २ वटा बैंठकमा समेत आफुहरुको माग सम्बोधन हुन नसकेपछि बाध्य भएर आन्दोलन गर्नुभएको संघर्ष समितिका सचिव छिरिङ ग्याल्बोले जानकारी दिनुभयो । आज मेलम्ची बाढी पिडित एक हौं,मृतक परिवारलाई क्षतिपुर्ती दे,बगाएका क्षतिपुर्ती दे,पिडितको ऋण मिनाहा गर,आयोजनाको खर्च सार्वजनिक गर,लेविको निर्धारण गर,आयोजनाको वातावरणीय प्रतिवेदन सार्वजनिक गर लगायतका नारा सहित र्र्याली गरेका थिए ।
आन्दोलनलाई हेलम्बु गाउँपालिकामा सक्रिय राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले,नकेपा (माओवादी केन्द्र), र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ऐक्यबद्धता जनाएका छन् । कोणसभालाई सम्बोधन गर्दै एमाले नेता हस्त पण्डितले यस अघि बुझाएको १७ वटा मागको कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो । बाढी गएको ३ बर्ष बितिसक्दा पनि सरकारले बाढी पिडितको माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै बाध्य भएर सडकमा उत्रिनुपरेको संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईंले बताउनुभयो । आफ्ना माग पुरा नहुन्जेल चरणबद्ध आन्दोलन गर्ने र सँगसँगै वार्तालाई समेत स्थान दिने समितिले जनाएको छ ।
कार्यक्रममा संघर्ष समिति वडा नम्बर ४का अध्यक्ष शिवप्रसाद लामिछानेले बाढीका कारण यहाँका नागरिकको बिचल्ली भएको उल्लेख गर्दै पिडितहरुको उठिबास लागेको बताउनुभयो । उहाँले सरकारले यहाँका मागलाई सम्बोधन नगरेको भन्दै आक्रोस पोख्नुभयो । कांग्रेस सभापति राजकुमार भण्डारी नेकपा एमाले हेलम्बुका अध्यक्ष ब्यानबहादुर पण्डितले सरकारले पिडितको कुरा नसुनेको बताउनुभयो । जुनसुकै पार्टीको भएपनि पिडितहरु एक भएर अब बहिरो भएको सरकारको ध्यान केन्द्रित गराउनतिर लाग्नुपर्ने बताउनुभयो ।
भोट बिग्रिने डरले,आफ्नो र अर्को पक्ष भनेर हिड्दा समस्या समाधान नहुने उहाँको भनाई थियो । नेकपा माओवादी केन्द्र हेलम्बुका अध्यक्ष मोदनाथ भण्डारीले बार्तासँगै माग पुरा नहुञ्जेल आन्दोलन लाई निरन्तरता दिनुपर्नेमा बताउनुभयो । राप्रपाका प्रतिनिधि भगवान खड्काले बाढी प्रभावितहरुको मागलाई सम्बोधन नभएसम्म आफु र आफ्नो पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । किउलबाट सुरु गरेको र्र्याली चनौटेमा आएर कोणसभ गर्दै समापन गरिएको थियो । औपचारीक कार्यक्रमको सहजिकरण हरि भण्डारीले गर्नुभएको थियो ।