पाँचपोखरी । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ स्थित थाङपालभ्याली माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाको सुरुवात भएको छ । चिलाउने निवासी दावा लामा र उहाँको परिवारले स्वार्गीय च्युङगु लामाको नाममा एक लाख रुपैयाँको विद्यालय छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक राजु तामाङ जानकारी दिनुभयो ।
त्यस्तै स्वर्गीय हजुरबा रामबहादुर तामाङको नाममा नवीन लामाले दश हजार , वडा सदस्य अङ्कमाया तामाङले स्वर्गीय बुबाको नाममा पन्ध्र हजार सहयोग गरि कोषको स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा आयोजित विजया दशमी,शुभ दिपावली,छठ तथा नेपाल संबतको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा सो कोषको स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले कक्षा ११ र १२मा मा अध्ययन गर्ने १०/१० जना विद्यार्थीहरुका लागी प्रति विद्यार्थी १० हजारका दरले सहयोग गर्ने उद्घोष गर्नुभयो । अध्यक्ष लामाले कक्षा ६ देखी १० सम्म पढ्ने १० जना विद्यार्थीको लागी ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विजया दशमी ,शुभ दिपावली,छठ तथा नेपाल संबतको सुभकामना ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष लामाले निरन्तरको बर्षाका कारण पाँचपोखरीमा विभिन्न संरचना जस्तै सडक,पुल,खेतियोग्य जमिन लगायत निजि तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको उल्लेख गर्दै गाउँबासीको समस्या समाधानमा निरन्तर लागी रहने बताउनुभयो ।
विद्यालयका प्रतिभाशाली र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक राजु तामाङले जानकारी दिनुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कुलबहादुर बस्नेत,समाजसेवी तथा नेकपा एमालेका नेता माधव पाण्डे लगायत विभिन्न ब्यक्तिहरुले सुभकामना व्यक्त गर्नुभएको थियो ।