मेलम्ची । मेलम्चीका विभिन्न विद्यालयका प्रधानाध्यापक  तथा फोकल शिक्षकहरुलाई दुई दिने  लैङ्गिक समानता तथा सामाजिक समावेशिता सम्बन्धित तालिम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । 

करुणा ट्रस्टको आर्थिक सहयोग तथा मेलम्ची नगरपालिकाको समन्वयमा रीड नेपालले तालिमको आयोजना गरेको हो । 

विद्यालयलाई बाल मैत्री, लैङ्गिक मैत्री, अपाङ्ग मैत्री तथा समावेशीमैत्री बनाउनको लागि तालिमको आयोजना गरिएको रीड नेपालका केन्द्रीय कार्यालयका सेफ गार्ड  अफिसर लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा बाल अधिकार, बाल संरक्षण, तथा बाल सुरक्षा  लगायत विषयमा सहभागीलाई  अफिसर श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

 बालबालिकालाई हुने दुर्व्यवहार  असर र न्यूनीकरणका बारेमा २ दिने तालिममा जानकारी गराइएको थियो । तालिम समापनमा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार भटृराईले तालिममा सिकेका कुरा घर, विद्यालय र समुदायमा पनि सिकाउन आग्रह  गर्नुभयो । तालिमले लैङ्गिक विभेद कम गर्ने र अपाङ्ग मैत्री विद्यालय बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घ, प्रदेश तथा स्थानीय सरकारले समावेशीतालाई विशेष स्थान दिने गरेको बताउँदै मेलम्ची नगरपालिका लैङ्गिक विभेद रहित ,अपांगामैत्री विद्यालय बनाउन लागि परेको बताउनुभयो । 

तालिममा सहभागी शिक्षकहरूले आफूले सिकेका कुरा विद्यालय र समुदायमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा मेलम्ची नगरपालिकाका ४, ६, १०, ११, १२ र १३ का १८ ओटा विद्यालयका प्रधानाध्यापक तथा बाल क्लब र इनको क्लबका फोकल शिक्षकहरूको सहभागिता रहेको रीड नेपालका परियोजना अधिकृत शोभा सुवेदीले जानकारी दिनुभयो । 

समापन कार्यक्रमको सहजीकरण आयोजक संस्थाकी वातावरण अधिकृत सुशीला कँडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार