मेलम्ची। “स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागीता –पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता“ भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिका शोमवारबाट पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा भएको छ ।
मेलम्ची नगरपालिका भित्रका १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुले सम्पूर्ण खोप पूरा गरेका छन् । नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र ५३४ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेका छन् । कार्यक्रममा पुर्ण खोप घोषणा एवम प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।


मेलम्ची नगरपालिकाका सम्पुर्ण वडाहरूलाई पुर्ण खोज सुनिश्चित घोषणा गर्ने क्रममा १३ वटै वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पुर्ण खोप लगाएको सुनिश्चित गरि आज पुर्ण खोप सुनिश्चित क्षेत्रको रूपमा घोषणा गरिएको जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो ।
सबै बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिका अनुसारका खोपहरू उपलब्ध गराई खोपबाट बचाउन सकिने रोगको रोग लाग्ने दर, अपाङ्गता दर र मृत्युदरमा कमि ल्याउनु यो कार्यक्रमको लक्ष्य रहेको छ । मेलम्ची नगरपालिका भित्र १६ देखि ५९ महिना सम्मका कुनै पनि बालबालिका कुनै पनि खोप बाट अब बन्चित नभएको सिनियर अहेव ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो । यो बर्षको लागि अहिले घोषणा गरिएपनि आगामी दिनमा पनि गर्दै जाने सिग्देलले बताउनुभयो ।


पेटमा बच्चा बसेदेखि यस्तो खाना खानुपर्छ भनेर स्वयमसेविकाहरूले सचेतना दिने गरेको नगरपालिकाले जनाएको छ । यसरी खोप लगाउनुपर्छ भन्ने सचेतना जगाउने काम समेत स्वयमसेविकाले गर्ने गरेका छन । स्वास्थ्य स्वयमसेविकाहरूले सुत्केरी परिक्षण गर्नुका साथै पहिलो डाक्टरको रूपमा रहने गरेका छन ।
कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सहयोग पुराउने स्वास्थ्यकर्मी, स्वयम् सेविका लगायत सरोकारवाला सबैमा धन्यवाद व्यक्त गर्नुभयो । घोषणा गर्ने मात्र नभएर यस्लाइ दिगोपना दिनको लागी नगरपालिकाले खेल्नुपर्ने भुमिकामा कमि नरहने प्रमुख तामाङले बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले स्वास्थ्य स्वयम् सेविकाहरु, कार्यरत स्वस्थ्यकर्मीहरुको अथक प्रयासबाट आज नगरपालिका पुर्ण खोप सुनिस्चितता घोषणा गर्न सफल भएको बताउनुभयो । विगतका दिनमा भन्दा हाल मातृमृत्यूदर र बालमृत्युदर घटेको प्रधानले जानकारी दिनुभयो ।
मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर किरण श्रेष्ठले सबै स्वास्थ्यकर्मी र स्वयमसेविकाको सहयोगमा यो कार्यक्रम गर्न सम्भव भएको जानकारी दिनुभयो । ’यसको दिगोपनाको लागि हामी सबै सरोकारवाला लाग्नुपर्छ’, उहाँले भन्नुभयो । मेलम्ची नगरपालिकामा बाल मृत्युदर र मातृ मृत्युदर समेत घटेको उहाँले बताउनुभयो ।
कार्यक्रम मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङको अध्यक्षता, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयमसेविका लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।


कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सिनियर अहेव ज्ञानेन्द्र सिग्देलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार