झापा । झापा गोल्ड कपको छैटौँ संस्करण फागुन १९ देखि फागुन २८ गतेसम्म सञ्चालन हुने भएको छ। 

मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता मानिएको झापा गोल्ड कपको यस सिजनमा ‘यति ब्रुअरी’ मुख्य प्रायोजकको रुपमा रहने भएको छ । 

मङ्गलवार एक कार्यक्रमबीच ‘यति ब्रुअरी’का ब्रान्ड प्रमोटर प्रतिपल अधिकारी र आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

झापा गोल्ड कप बिर्ता बजारको डोमालाल राजवंशी रङ्गशालामा  सञ्चालन हुने छ । 

प्रतियोगितामा यो वर्ष पुरस्कार राशि बढाइएको झापा गोल्ड कपका महासचिव गजेन्द्र पौडेलले बताए । 

यो वर्ष गोल्ड कप विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन्। पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए। 

मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिने समितिका महासचिव पौडेलले जानकारी दिए।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने छ। 

प्रतियोगिता सञ्चालनका लागि एक करोड ४० लाख रुपैयाँ अनुमानित खर्च हुने समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए। 

छैटौँ संस्करणको उद्घाटन समारोहमा जिल्लाका एक जना पुराना फुटबल खेलाडी तथा रङ्गशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५/२५ हजारसहित सम्मान गरिने बस्नेतले बताए । 

०७२ सालदेखि सुरु भएको झापा गोल्ड कपको खातामा हाल ९८ लाख  रुपैयाँभन्दा बढी रकम बचत भएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । गोल्ड कपका लागि डोमालाल राजवंशी रङ्गशालामा मर्मतको कामसमेत सुरु भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय