Site icon Subhatime

एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम अन्तर्गत इन्द्रावतीका एकनाथ प्रशिक्षणका लागी भारत प्रस्थान ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको विशेष अभियान “एक पालिका दुई खेलाडी प्रशिक्षण” अन्तर्गत पाँच पोखरी थाङपाल गाउँपालिकाका दुई खेलाडीलाई भारतको उत्कृष्ट एकेडेमीमा प्रशिक्षणमा पठाएको केही समयमा नै आज सिन्धुपाल्चोक क्रिकेट संघको समन्वयमा इन्द्रावती गाउँ पालिकाको एक खेलाडीलाई भारतमै प्रशिक्षणका लागि विदाई गरेको छ। गाउँ पालिका सँग दुई खेलाडीका लागि सम्झौता भएपनि एक खेलाडीको व्यक्तिगत कारणले दसैँ लगत्तै विदाई गर्ने गरी इन्द्रावतीका एकनाथ नेपाल लाई आज विदाई गरिएको जिल्ला क्रिकेट संघ का अध्यक्ष विजय धितालले बताउनु भयो।

विदाई कार्यक्रममा आफ्नो संदेश पठाउँदै पालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँ पालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको बताउँनुभयो । उहाँले यो सहकार्यको सुरुवात मात्र भएको बताउनु भयो। यसैगरी इन्द्रावती गाउँपालिका का प्रवक्ता शशिनाथ आचार्यले पालिकामा लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्ला क्रिकेटको उचाईलाई माथि बढाउने जिल्ला क्रिकेट संघको यस किसिमको कार्यको खुलेर प्रसंसा गर्नुभयो।

आफ्नै पालिकाको खेलाडी एकनाथ नेपाललाई विदाई गर्दै जिल्ला क्रिकेट संघका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघको “एक पालिका दुई खेलाडी प्रशिक्षण” कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। विदाई कार्यक्रममा इन्द्रावती गाउँ कार्यपालिकाका प्रमुख सल्लाहकार डाल बहादुर सापकोटा लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो।

Exit mobile version