सुशील सुवेदी , सिन्धुपाल्चोक । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ ।

सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सुकुटेमा सरोकारवाला निकायसँग अन्तक्रिया गरेको छ ।

राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो । कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे बजारले पर्यटकीय र धार्मिक महत्व बोकेको उल्लेख गर्नुभयो । अरनिको र भृकुटीको प्रतिमासहितको पार्क निर्माण गर्नसके त्यसले ऐतिहासिक महत्वलाई समेत जिवित राख्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरभित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताउनुभयो । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उहाँले बताउनुभयो । अरनिको राजमार्ग भएर बाह्रबिसे पुग्ने आन्तरिक पर्यटक सुनकोसी नदीमा ¥याफ्टिङको मज्जा लिँदै दोलालघाट पुग्छन्। हाइकिङ, रक क्लाइम्बिङ, स्विमिङ र सुनकोसी नदीको पानीमा डुबुल्की मारेर नुहाउन पर्यटक लोभिएको उहाँले बताउँनुभयो ।   

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानीय सरकाले बनाउने हुँदा व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।

पर्यटन एवं होटल व्यवसायी नारायण श्रेष्ठले सो क्षेत्रका पर्यटन प्रवद्र्धनको चुनौती र सम्भावनाबारे धारणा राख्नुभयो । उहाँले भन्नुभयो गर्मीयामको समय चैत, वैशाख र जेठ तीन महिना सुकुटे भरिभराउ हुन्छ । शुक्रबार र शनिबार सुकुटे क्षेत्रमा दैनिक १० हजार आन्तरिक तथा बाह्य पर्यटक आउँछन्।  कोरोना महामारीले गर्दा र्याफ्टिङ गर्ने विदेशी पर्यटक बढेका उहाँको भनाई छ ।

 चौतारा–साँगाचोकगढी नगरपालिकाको सिम्लेदेखि बलेफीसम्म १५ रिसोर्ट र कम्तीमा २० होटेल छन्। सुकुटे बिच एड्भेन्चर, सुकुटे भ्याली, सुनकोसी रिभरसाइड, माया बिच रिभरवे र्याफ्टिङ, भोटेकोसी बिच, सुकुटे फन बिच, स्यान्डी बिचजस्ता रिसोर्टमा आन्तरिक पर्यटकको भिड नै लाग्छ ।

सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले तीन वर्ष अगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुँदे घोषणा कोरोना भाइरसका कारण कार्यान्वयनमा समस्या परेकाले आवश्यकताअनुसार ती घोषणालाई कार्यान्वयनमा लानुपर्ने छलफलको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार