तस्बिर ः क्यान

काठमाडौं । घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ।

कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएसँगै सिरिजका सबै खेलमा नेपाल बिजेता बनेको हो ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो ।

तर यसअघिका म्याचको तुलनामा कठिन पीचमा नेपाली ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरे । कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै आठ विकेट गुमाउन पुग्यो । हार निश्चित देखिएको अवस्थाबाट रोहितले नेपाललाई जोगाए । उनलाई करणले बलियो साथ दिए ।

यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। यसअघि नामिबियालाई दुवै खेलमा पराजित गरेको नेपालले यो शृंखलाका चारै खेल जितेको छ।

चार वटै खेलमा नेपालले लक्ष्य पछ्याएर जित निकालेको हो। सबै खेलमा लक्ष्य पछ्याएको नेपालले तीन खेलमा दुई सय ७० रनभन्दा ठूलो लक्ष्य पूरा गरेको थियो। शृंखला सुरु हुनुअघि दुई सय ५५ रनको लक्ष्य पछ्याएको कीर्तितमान थियो। तर, शृंखलाको पहिलो खेलमै नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको कीर्तिमानी लक्ष्य पूरा गरेको थियो।

त्यसपछि दोस्रो खेलमा स्कटल्यान्डले दिएको र तेस्रो खेलमा नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले पूरा गरेको थियो। तुलनात्मकरूपमा नेपालले मंगलबार अपेक्षित सुरुआत गर्न सकेको थिएन। नेपालले १८।४ ओभरमा ६१ रन बनाउँदा पाँच विकेट गुमाएको थियो। यद्यपि, रोहित र करणको उत्कृष्ट साझेदारीमा नेपाल जित निकाल्न सफल भयो।

नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न बाँकी आठवटै खेल जित्नुपर्ने दबाब छ। नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी ९पीएनजी०सँग अर्को शृंखला खेल्ने छ। त्यसपछि नेपालमै हुने अन्तिम शृंखलामा पीएनजी र यूएईसँगै त्रिवि क्रिकेट मैदानमा नेपालले खेल्ने छ।

नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने बाध्यता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय