Site icon Subhatime

बाजुरा घटनाको दोषीलाई कारबाही गर्न अनेरास्ववियु सिन्धुपाल्चोकको माग

सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोकले निर्वाचनको दिन बाजुरामा भएकाे घटनाको दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

अनेरास्ववियु सिन्धुपाल्चोकले उक्त घटनाकाे छानविन गरी दोषीलाई छिटाे भन्दा छिटाे कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएकाे अनेरास्ववियु सिन्धुपाल्चोकका काेषाध्यक्ष अमृत थापाले मैत्री न्युजलाई जानकारी दिनुभयाे ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले साे ध्यानाकर्षण पत्र बुझ्दै सम्वन्धित ठाउँमा समयमा नै पुर्याउने बताउनुभयाे ।

ध्यानाकर्षण पत्रमा भनिएकाे छ, ‘निर्वाचनको दिन बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित मतदान स्थलमा भएको विवादलाई विषयान्तर गरी सत्ता गठबन्धनका अराजक गुन्डाहरूले सोही दिन राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष क. चेतन ऐडीको बीभत्स हत्या गरिएको घटनाप्रति अनेरास्ववियुले मंसिर ५ गते नै विज्ञप्ति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको सर्वविदित नै छ ।’

सरकारले चेतन ऐडीको हत्यामा संलग्नहरूलाई कारबाही गर्नुको साटो सत्ताको दुरुपयोग गरी अपराधीहरूलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

अपराधीलाई कारबाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्ष लगायतका नेताहरूलाई गिरफ्तार गरी झुटो मुद्दा लगाई प्रहरी हिरासतमा राख्नुले प्रहरी र सरकारले नियोजित रूपमा नै अपराधीहरूलाई संरक्षण गरेको दाबी अनेरास्ववियुले गरेकाे छ ।

Exit mobile version