काठमाडौँ । सोमबार निर्वाचन आयोग पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक उम्मेदवारको बन्द सूचिको नामावली बुझायो । जसमा राप्रपाका नेता पशुपतिशमशेर जबराको समानुपातिकको अग्रस्थानमा नाम रहेको छ । 

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर जबरा यस पटक समानुपातिकमा बसेका छन् । पञ्चायती समयदेखि गणतन्त्रसम्म सिन्धुपाल्चोकबाट चुनाव लड्दै आइरहेका राणाले २०५६ सालमा चुनाव जिते पनि त्यसयता भने उनी निरन्तर पराजित हुँदै आएका थिए तर पनि उनले चुनावको मोह र लड्ने हिम्मत भने हारेनन् । 

२०६४ सालको चुनावमा माओवादी उम्मेदवारसँग पराजित राणा २०७४ सालमा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए । २०७४ सालमा राणालाई काँग्रेसले समर्थन गरेको थियो । राणा चुनाव लड्ने भएपछि शेरबहादुर तामाङलाई केही राहत मिलेको छ । एमाले राप्रपाको सैद्धान्तिक गठबन्धन गर्ने हल्ला बाहिरिएसँगै एमाले कार्यकर्ताले गठबन्धन गर्दा राणालाई आफूहरूले भोट नहाल्ने चेतावनी दिएका थिए । अब योसँगै शेरबहादुर तामाङलाई केही सहज भएको छ । 

२०७४ सालमा माओवादीको साथ पाएर चुनाव जितेका तामाङ यस पटक पनि एमालेको तर्फबाट चुनाव लड्दैछन् । सिन्धुपाल्चोक–२ मा काँग्रेसको बलियो उम्मेदवार फेला परेको छैन ।

सिन्धुपाल्चोक–१ मा सभामुख अग्निप्रसाद सापकोटा र काँग्रेस नेता मोहन बस्नेतको हानथाप परेका कारण २ काँग्रेस या माओवादी कसले पाउने भन्ने टुङ्गो लागेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय