सरी !

म तपाईँलाई खुसी दिन पनि सक्दिन, म पनि खुसी हुन्न । त्यहीँ भएर अब हाम्रो प्रेमलाई यहीँ पूर्णविराम लगाऊँ।

यहीँ थियो उसको अन्तिम मेसेज । के बोल्ने मैले अब ? अल्पविराम त सोच्न न सक्ने म पूर्णविराम कसरी लगाऊँ ? आखिर कस्तो रहेछु म ? के गल्ती भयो होला र मबाट ? किन यसरी निर्दयी भएकी होली ऊ ? के साँच्चै उसको लायकको थिइन होला र म ? यस्ता अनेकौँ प्रश्नवाचक चिन्हको भुमरीमा फसेको छु म । आखिर यी प्रश्नको उत्तर के होला ? कसले देला मलाइ उत्तर ? बल्ल प्रेम शब्दको अर्थ बुझ्दैछु । पाउनु भन्दा गुमाउनु वास्तविक प्रेम भन्थे ,हो रहेछ।

उ मसँगै भएकी भए यस्तो प्रेमको मूल फुट्दैन थियो होला । मानव चोला नै यस्तो जुन चिज आफू सँग हुँदैन, त्यसकै बढी खोजी हुने । त्यहीँ कुराले मन पिरोल्ने । मैले आफ्नो अस्तित्व समाप्त गरे । लाग्दैन थियो म जस्तो हठी र जिद्दी मान्छे पनि यो प्रेमरूपी आगोले पगाल्छ भन्ने । ध्वस्त भए म,दनदनी दन्किरहेको आगोमा कागज जलेर नष्ट भए जसरी, मेरो मनको सबै भावना,इच्छा,आकाङ्क्षा यही प्रेम रुपी डढेलोमा पर्‍यो । उसको मेसेज नआए ननिदाउने म ,आज महिना दिन हुन लागिसक्यो कसरी निदाए होला म ? मनमा अनेकौँ सोच विचारहरू कुण्ठित बनाएर । 

वास्तविक प्रेमाभावको आभास भएको छ । सहर पुरै नयाँ वर्षको झिलिमिलीमा रम्न मस्त छ , मेरो मनलाई मात्र अन्धकार युक्त कालो बादलले छाएको छ।

उ के सोचेर टाढा भएकी होला ? साँच्चै म त्यस्तो खराब नै रहिछु र ? यदि म बैगुनी नै भए पनि उसले किन यति लामो समय लगाइ होला मलाई चिन्नलाई ? मैले त ऊसँग बोलेको केही महिनामा नै ठम्याइ सकेको थिए उसलाई , उ मेरो लागी पर्फेक्ट छे भन्ने । बाहिरी मुखौटो एउटा छ र भित्री वेदना अर्को । 

कसलाई के भनौँ, के सुनाऊ , जो मान्छे मसँगै हुँदा निकै खुसी हुन्थी, त्यसैले आज छोडेर गई, नाता तोडेर गई । हरेक कुराको अनुभव खोज्ने म , प्रेमको अनुभव निकै चोटिलो भयो ,सहनै न सक्ने । समय बित्दै गएपछि यादका सागरहरू किनारा लाग्छ भन्ने सोच्थे , तर यादका ती सागरले छाल बनेर तर्साइ रहेको छ , सम्झाइ रहेको छ , झकझकाइ रहेको छ । 

कसैको साथ चाहिँदैन अब , एकान्त नै प्यारो लाग्छ। मनमा अन्धकार छाएर होला , अन्धकार नै रुचाउन लागेको छु । जिस्की रहने चञ्चले स्वभावकी उ , उसको हाँसोले मनको एक कुनामा अड्डा जमाएर बसेको छ , निकाल्नै नसक्ने गरी। आफूलाई म भित्रै छाडेर कसरी बसेकी होला ? थोरै याद त आउला नि उसलाई पनि? कसरी सहेकी होला ? अब त यो दुरी अन्त्य गर्दे पनि हुने । महत्त्व घटेर महत्त्वहीन भएको छु म । आफ्नो अस्तित्व नाशेको छु ।

थाहा छैन कस्तो चिज रहेछ यो प्रेम , सारा संसार भुलेर एक तर्फ लागेको छु । मनको व्यथा पोख्न कहाँ जने होला ? कसलाई लाने होला ? मलाई थोरै बुझेको जस्तो गर्ने उ नै थिई । अब कसले बुझ्ला र मलाइ ? कोही छैन आफ्नो भन्नु । सबै कुरा खत्तम भयो ,बर्बाद भयो अन्त्य भयो । दिन त जसरी पनि काटिएला तर यो रातले दुख दियो । कति दिन भिजाउनु सिरानीलाई पनि ‌, दया र सिरानीको लागेको छ । अब हुँदैन म बाट यसरी, चल्दैन जिन्दगी । कसको दोष होला यहाँ , उसलाई माया गर्ने म कि ? मलाइ माया गर्ने ऊ ? प्लिज कम ब्याक है !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय