मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा वडा स्तरीय अन्तर विद्यालय विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।वडा शिक्षा समितिले गोल्मेश्वरी आधारभूत विद्यालय मानेडाँडामा आज शुक्रवार वडा भित्रका सामुदायिक विद्यालय बिच तहगत फरक फरक विधामा चित्रकला, हाजिरीजवाफ, वादविवाद र निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।

कक्षा १-३ का विद्यार्थीलाई सहभागी गराएको चित्रकला प्रतियोगितामा सातकन्या मावि रातमाटाकी आयुष्मा तामाङले प्रथम स्थान ल्याउन सफल हुनु भएको छ । द्वितीय जनता माविकी करिश्मा खड्का र तृतीय रक्तकाली आविका प्रवेश मिजार भएका छन्। त्यसै गरी सान्त्वना पञ्चकन्या आविका आइतेसिं तामाङ हुनु भयो । कक्षा ४-५ स्तरीय हाजिरी जवाफमा प्रथम जनता मावि, द्वितीय गोल्मेश्वरी आवि, तृतीय क्यौलेठाना आवि र सान्त्वना पञ्चकन्या आवि भएका छन्। यसै गरी कक्षा ६-८ स्तरीय छोरीलाई दाइजो भन्दा शिक्षा दिन बेश भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा जनता माविकी प्रसन्ना कार्की पहिलो हुन सफल हुनु भएको छ ।दोस्रो क्यौलेठाना आविका छिरिङ तामाङ, तेस्रो सातकन्या माविका पुष्पराज पुरी भएका छन्। सान्त्वना गोल्मेश्वरी आविका आशिष थापा र जनता माविका क्रिशु बस्नेत हुनु भयो । आधुनिक युगमा सूचना प्रविधिको महत्व शिर्षकमा भएको माध्यमिक तह कक्षा ९-१० तहको निबन्ध लेखन प्रतियोगितामा सातकन्या माविका सुजन तामाङ प्रथम र जनता माविका अनिश थापा द्वितीय हुनु भयो ।


सबै प्रकारका प्रतियोगिताहरुको मूल्याङ्कन रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती र फटकशिला माविका शिक्षक हरि प्रसाद सापकोटाले गर्नु भएको हो । विजयी विद्यार्थीलाई पुरस्कार, मेड्ल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक किरण दीप खड्काले शैक्षिक गुणस्तर र सिकाइ अभिवृध्दि गर्न विद्यालय बिचको अनुभव आदानप्रदान हुनु पर्नेमा जोड दिनु भयो। वडा समिति सदस्य हरिशरण थापा, सातकन्या माविका विव्यस अध्यक्ष सुनबहादुर घले , क्यौलेठाना आविका अध्यक्ष पूर्णबहादुर तामाङ, जनता माविका प्रधानाध्यापक केदार विष्ट लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका बिच गोल्मेश्वरी बाल क्लबले प्रकाशन गरेको भित्ते पत्रिका गोल्मेश्वरीको आवाज प्रमुख अतिथि खड्काले बिमोचन गर्नु भएको थियो । कार्यक्रम सोही विद्यालयका प्रधानाध्यापक कुमार तामाङको अध्यक्षता र शिक्षक पाण्डब अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय