• संस्कृति अध्येता घनश्याम कोइराला

संस्कृतिलाई कसैले धर्मसँग, कसैले नियमसँग त कसैले परम्परासँग जोडेर हेर्ने बुझ्ने गरेको देखिन्छ । साह्रै थोरै शब्दमा भन्नुपर्दा संस्कृति भनेको समाजले स्वीकार गरेको जीवन पद्धति हो ।

संस्कृतिले हाम्रो दैनिक जीवनलाई प्रकट गरिरहेको हुन्छ । हाम्रो पहिरन, खान्की, काम आदि संस्कृतिका विषय हुन् । यी सबै हामीले परम्पराबाट पाएका छौँ । हुँदै गरेका सामाजिक तथा आर्थिक परिवर्तनले संस्कृतिमा प्रभाव पारिरहेको हुन्छ, यसो हुनु स्वाभाविक हो तर तिनीहरूका सारभूत पक्षहरू भने हामीले बिर्सन र त्याग्न हुँदैन ।

अहिले हामीले भन्ने गरेको विकासलाई भौतिक पूर्वाधारमा मात्र सीमित राखेर बुझ्नेहरूले वास्तविक विकास बुझेका छैनन् । विकास त समृद्धिको माध्यम हो । समृद्धिका लागि समाज, संस्कृति, मूल्यमान्यता, जीवन पद्धति बुझ्न आवश्यक हुन्छ । जीवन होस् वा जगत, बुझेर मात्र फेर्न र अनुकूल बनाउन सकिन्छ । हाम्रा परम्परा कति विज्ञानसम्मत छन् । सबैले सम्झन सकियोस् भनेर सूत्रात्मक मन्त्रहरू रचिएका छन् । हामीले पुराना भनेर छोड्दै गरेका परम्पराको विज्ञानलाई सचेतनतापूर्वक अवलम्बन गर्न सके संसारमा हाम्रो साँस्कृतिक अग्रतालाई सबैले पछ्याउन वाध्य हुनेछन् ।

हाम्रो दिन यसरी सुरु हुन्छ :
कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वति ।
करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम् अर्थात् हातको अघिल्लो भागमा लक्ष्मी बस्दछिन्, हातको मध्य भागमा सरस्वती बस्दछिन् । हातको मूलमा ब्रह्मा रहन्छन् । यसैले बिहानमा हात हेर्दछु ।

यो श्लोक बिहान उठ्ने बित्तिकै हात हेर्ने मन्त्र हो । हाम्रा घरका पाका मानिसहरूले यो मन्त्र गुनगुनाउँदै आफ्ना दुवै हात अनुहारसामु फैलाएर हात हेर्ने गरेको धेरै पटक देखेको छु । वहाँहरूलाई यसको शब्दार्थ थाहा नहुन सक्दछ, तर अन्तर्वस्तु थाहा थियो कि थिएन, थाहा भएन तर व्यवहार भनेर बुझेरै गरेको जस्तो लाग्दछ । उतिबेला भने यसको कुनै भाव मैले ठम्याउन सकेको हुन्थिनँ ।

अहिले पनि हाम्रो सामाजिक चेतना कुरा नबुझेपछि नरुचाउने छ, नरुचाएपछि गलत नै ठान्ने खालको छ । खोज्ने बुझ्नेतिर नलाग्ने, खोज्नु बुझ्नुलाई झन्झट ठान्ने प्रवृत्ति प्रशस्तै छ । कसैको मुखबाट कुनै विषय भुँईमा खस्न नपाउँदै नानाथरि टिकाटिप्पणी सुरु गरी हाल्ने प्रवृत्ति तीव्र छ । बुझेपछि पनि मन परे राम्रो, मन नपरे नराम्रो भनिदिन्छौँ । हाम्रो आममनोदशा यस्तै छ । यस्ता सबै अवैज्ञानिक चिन्तन, मनोदशा र तौरतरिका फेर्न आवश्यक छ, नत्र सत्यमा आधारित संस्कृति निर्माण सम्भव नै छैन । तर, असल संस्कृति निर्माण नगरी लतारिएर बस्न पनि हुँदैन । त्यसैले असल संस्कृति निर्माण परम्परागत सोच, टपर्टुयाँ व्यवहार, छट्टु तरिका, नकारात्मक प्रवृत्ति र हीनभावना भएकाहरूको बूताको विषय होइन । उल्लेखित मन्त्रको संक्षिप्त विवेचना गरौँ । ‘कर’ शब्दको अर्थ ‘गर्ने, गर्नु’ पनि हो । त्यसैले हात भनेको काम गर्ने मुख्य अङ्ग हो । कलमले गरिने होस् वा यन्त्र—उपकरणले, कामको लागि हात नै पहिलो आवश्यकता हो । त्यति मात्र होइन, यन्त्र—उपकरण निर्माणमा पनि हात आवश्यक हुन्छ नै ।

शरीरको यति महत्वपूर्ण अङ्गबारे बुझ्न हात हेर्न आवश्यक छ । हात हेर्ने क्रममा भनिएको ‘लक्ष्मी, सरस्वती र ब्रह्मा’ विषय थप महत्वपूर्ण र अर्थपूर्ण रहेको देखिन्छ ।

‘लक्ष्मी’ भनेको धन—धान्य र समृद्धिको द्योतक हो । लक्ष्मीको बास हातको अग्रभाग (अघिल्तिर) हुन्छ भन्नुको तात्पर्य धन—धान्य र ऐश्वर्यका लागि हातलाई—हातको अघिल्लो भाग सक्रिय पार्नु पर्दछ । गर्ने, लिने, दिने सबै कुरामा हातको अघिल्लै भाग सकृय हुन्छ र हुनु पर्दछ । हात सकृय नभई आय (आउनुपर्ने)—दाय (दिनुपर्ने) काम हुँदैन, अर्थात् लेनदेन हुँदैन । लिने—दिने नगरी धन चलायमान हुँदैन । धन चलायमान नभई अर्थतन्त्र विकसित हुँदैन । चलायमान नभएको अर्थतन्त्रले ऐश्वर्य अर्थात् समृद्धि दिँदैन । त्यसैले सुख—समृद्धिका लागि हातको अर्थात् कर्मको ठूलो महत्व रहेको छ ।

‘सरस्वती’को बास हातको मध्य भागमा हुन्छ भनिएको छ । यसको तात्पर्य दुवै हातको बीचमा रहेको मस्तिष्कको भाँडो (टाउको) र हृदय हो । सरस्वतीका विषयमा यसै पुस्तकको अन्य शिर्षकमा सविस्तार चर्चा गरिएको छ । संक्षेपमा भन्नुपर्दा— ज्ञान, सीप, क्षमता र मनोयोग नमिली कुनै कर्म सफल हुँदैन । हातलाई सही दिशा प्रदान गर्न ज्ञान, सीप, क्षमता र मनोयोगलाई पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ ।

शास्त्रहरूमा ‘ब्रह्मा’लाई सृष्टिकर्ता मानिएको छ । सृष्टि भनेको गरिएको कामको परिणति हो । गतिलो परिणाम सृजना गर्ने शक्ति हातको मूल जरामा हुन्छ । मूल गतिलो र सबल नभई काण्ड र टुप्पोको काम हुँदैन । यसको अर्थ शक्ति र शक्तिको आधारलाई जान्न बुझ्न सकिएन भने अनर्थ हुन सक्दछ ।

बिहान उठेर सबैभन्दा पहिले हात हेर्ने कुरा कर्म, ज्ञान—सीप, सृजना र सृजनाको लागि आवश्यक शक्तिसँग सम्बन्धित विषय हो । यसरी हरेक दिन मानिसले आफ्नो शुभ दिनको सुरुआत हात हेर्नेबाट गर्नु वैज्ञानिक विषय रहेको पुष्टि हुन्छ । हात हेर्ने भनेको हातको अवस्था ठम्याउनु भनिएको हो ।

अन्यत्र भनिएको छ : शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात् ‘धर्मसाधना (कर्तव्यपालन) को लागि शरीर नै प्रथम हो ।’ शरीर नै नरहे के धर्म, केको धारणा । शरीर छ र मानिस छ । मानिस छ र धर्म छ, धारणा छ । कर्तव्यहरू छन् ।
बिहान उठ्दै गर्दा पढिने अर्को (दोस्रो) मन्त्र यस्तो छ :
समुद्र वसने देवी पर्वतस्तनमण्डिते ।
विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्श क्षमस्व मे ।।
‘समुद्ररूपी लुगा लगाएकी (समुद्रले घेरिएकी), पर्वतरूपी वक्षस्थलले सुशोभित विष्णुकी सहचारिणी (भूमि) मेरो गोडाले छोइएकोमा क्षमा गरिदिनु होला, म तपाइँलाई नमस्कार गर्दछु ।’

हामी भूमिलाई आमा मान्दछौँ । तब पुत्रोकहं पृथिव्या…..हे पृथिवी ! म तपाईँको सन्तान हुँ । हामी संसारका मानव जातिले सिङ्गो पृथिवी र देश—देशकाले आपूm जन्मेको भूमिलाई ‘मातृ (आमा) भूमि’ मानिन्छ । भूमि हामी जन्मिने स्थल मात्र होइन, जीवन जिउने र अमरत्व प्राप्त गर्न गरिने कर्मस्थल हो । सुख, समृद्धि र आनन्दमय जीवनको परिकल्पना साकार पार्ने पनि यही भूमिमा नै हो । सबै प्रकारका सन्तापहरूबाट मुक्ति पाउने स्थल पनि भूमि नै हो । हामी भूमिमा छौँ । यहाँ प्रकृतिका आकास, वायु, तेज, जलको अनुभूति हुन्छ । यही भूमि मानिसको जीवन र जगतको आधार हो । आकसमा उड्ने पङ्क्षिहरूको निवास भूमि नै हो । समुद्रमा मिसिने खोला बग्ने पनि यही भूमिमा हो । समुद्रको जलको सदुपयोग हुने पनि यही भूमिमा नै हो । समुद्रबाट वाष्पीकरण भएर बनेका बादलले आकासबाट जल वर्षाउने पनि यही भूमिमा हो । खानी—खजाना यही भूमिमा पाइन्छ । ‘स्वर्ग’का देवदेवीहरू रमाएको भूमिमा नै हो । देवदेवीका तीर्थ—धाम आदि पनि यहीँ छन् । यसैले पृथ्वी महत्वपूर्ण छ ।

‘समुद्रवसने’ समुद्रबाट घेरिएकी—समुद्ररूपी लुगा लगाएकी छन्, अर्थात् पृथ्वी जलसम्पत्तीको भण्डार हो । ‘पर्वतस्तन मण्डिते’ प्राणरक्षाको लागि आवश्यक तत्वरूपी दुग्धधारा बगिरेको र सुन्दर छ । ‘विष्णुपत्नि’ संसारको सृष्टि र प्रलयको बिचको अवस्था जीवन हो । यस जीवनलाई सुचारु सञ्चालन गराउने तत्वलाई विष्णुतत्व भनिन्छ । यस तत्वसँग सँगै रहने मातृशक्ति पृथ्वी हुन् । हामीले कर्म गर्दा पृथ्वीका (प्रकृतिका) नियमहरूलाई अज्ञानतावश कुल्चिन परिरहेको हुन्छ, क्षति पुर्‍याइरहिएको हुन सक्दछ । यसप्रति सम्वेदनशील रहनु पर्दछ । यसको तात्पर्य हो उपरोक्त विशेषताहरूको सम्वेदनशीलतालाई ध्यान दिनु पर्दछ । प्रकृतिको दोहन गर्दा समुद्रको, पहाड—पर्वतको, भावी जीवनको (भविष्यमा जन्म लिने मानव तथा अन्य प्राणी जगतको) समेत प्रतिकूल नहुने गरी सावधानीपूर्वक गर्नु पर्दछ । पर्यावरण—वातावरणको क्षेत्रका अध्येताहरूका लागि यो महत्वपूर्ण सारसंक्षेप हो ।

यसरी हाम्रो संस्कृतिले प्रत्येक दिन बिहान ओछ्यान छोड्नुपूर्व नै शरीरको र भूमि (पृथ्वी÷प्रकृति) को अर्थात् जीवन र जगतको विषयमा गतिलो ध्यानाकर्षण गर्दछन् र दिन सुरु गर्न प्रेरित गर्दछन् । यो हाम्रो सकारात्मक वैज्ञानिक जीवन पद्धतिको एउटा सानो उदाहरण मात्र हो । यसमा नानाथरि शोषण र उत्पीडनका लुर्का र फुर्का जोडेर बुझ्ने बुझाउने प्रयत्न गर्नु अनुचित हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार