मेलम्ची । देशभर फैलिएको डेङ्गु रोकथामका लागि मेलम्ची नगरपालिकाले पनि अभियान थालेको छ । डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो ।
जताततै डेङ्गु संक्रमणका बिरामी बढ्न थालेको पाइएपछि मेलम्चीले नगरवासीलाई यसबाट बँचाउन अभियान थालेको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।

नगरवासीलाई रोगबाट बँचाउन खोज्दै नष्ट गर्ने अभियान सुरु गरेको तामाङले बताउनुभयो । आज स्वास्थ्य शाखा तथा मेलम्ची नगर अस्पतालको आयोजना र समन्वयमा मेलम्ची नगर अस्पताल बाट मेलम्ची बजार सम्म र्र्याली गरी अभियानको सुरुवात गरिएको हो । नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान,प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराई,स्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारी,नगर अस्पतालका प्रमुख डाक्टर किरण श्रेष्ठ लगायत स्वास्थ्यकर्मी,जनप्रतिनिधि,सुरक्षाकर्मी,स्थानियहरुको सहभागीतामा सचेतजना मुलक र्र्याली गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
डेङ्गु रोग लाग्न नदिन सचेतना अभियान सँगै रोग लागेर बिरामी भएकाहरूको उचित उपचार तथा व्यवस्थापन गर्ने काम पनि सँगै लिएर जाने तयारी नगरपालिकाले गरेको उपप्रमुख उमा प्रधानले बताउनुभयो ।
लामखुट्टे बास बस्ने, फुल पार्ने ठाउँको खोजी गरी लार्भा नष्ट गर्न ‘खोज र नष्ट गर’ अभियानले सार्थक हुने स्वास्थ्य शाखाको बुझाई छ ।