मेलम्ची । नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा “सुबोध“ले संविधानमा लिखित “समाजवाद“ को बुझाइमा एकरुपता नहुदा देशमा अस्थिरता देखिएको बताउनुभयो । माओवादी पार्टीको ईन्द्रावती गाउँपालिका समितिले मंगलबार पालिकाको ज्यामिरेमानेमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि सापकोटाले दलका नेताहरूबिच समाजवादमा पुग्ने बाटो बारेको बुझाइमा परेको फरकले अस्थिरता कायम रहेको बताउनुभएको हो । उहाँले माओवादीले सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेर समाजवादको बाटोमा जान चाहेको तर काङ्ग्रेस एमालेको बुझाइ फरक रहेको सुनाउनुभयो ।
काङ्ग्रेस पुजीवादमा केन्द्रीत रहेको र एमालेसंग ब्यवहार नमिलेको उहाँको भनाई थियो । सापकोटाले स्थिरताका लागि दलहरूले समाजवाद बारे खुलेर बहस गर्न आवश्यक रहेको बताउनुभयो । सुशासन र आर्थिक समृद्धिले समाजवादमा पुग्न संभव हुने उहाँले बताउनुभयो ।
नेपालको संविधान २०७२ को प्रस्तावनामा “ जनताको प्रतिस्पधात्मक वहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजबादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने“ उल्लेख छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले संविधानमा उल्लेखित समावेशी समानुपातिक प्रतिनिधत्वको सिद्धान्तलाई बाधकका रुपमा नबुझ्न सरकारलाई सुझाव दिनुभयो । यसले महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यकका लागि अवसर सृजना गरेको उहाँले बताउनुभयो । माओवादीका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा किशोरले अहिले सुशासनका लागि संयुक्त खबरदारी आवश्यक रहेको बताउनुभयो । माओवादीका सिन्धुपाल्चोकको जिल्ला समन्वय समिति संयोजक गोबिन्द पराजुलीले आपसी सद्भाव र घुलमिलका लागि चियापान राखिएको बताउनुभयो ।
माओवादी सम्पर्क समन्वयकाका कोषाध्यक्ष ठूलोबाबु श्रेष्ठ, नेपाली काङ्ग्रेस ईन्द्रावती गाउँपालिका सभापती जीवन थापा मगर, एमाले पालिका उपाध्यक्ष प्रकाश मैनाली, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष इश्वरी अधिकारी, माओवादी इन्द्रावतीका सचीव दीपक न्यौपानेलगायतले सम्बोधन गर्दै चियापानले दलहरूवीच मित्रवत सम्बन्ध र चाडपर्वमा सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।