हाम्रो गाउँघरतिर एउटा गीत गाइन्थ्यो, ‘सालै जो, ढिँडो पनि भातै हो ।’ यो गीतले नेपाली तात्कालिक समाजको मनोविज्ञान प्रकट गरेको छ; त्यो के भने— छाक टार्ने गरी खाइने खाना भनेको भात हो, जे खाए पनि त्यो भात नै हो । यसले खाना र भातको सम्बन्ध देखाउँछ । यसबारे अन्यत्र चर्चा गरौँला । यहाँ चर्चाको प्रसङ्ग अलि फरक हो र त्यो हो दसैँ कि विजया दशमी भन्ने प्रसङ्ग !

दसैँ—बडादसैँ पर्व नेपाली मौलिक पर्व हो । यसलाई कसैले बडा दसैँ—दसैँ भनेका—लेखेका छन् भने कसैले विजया दशमी भन्ने—लेख्ने गरेका छन् । एउटै पर्वलाई यस्तो छ्यासमिस पार्नु राम्रो होइन । कसै कसैले दुवै एउटै हो भन्न—लेख्न पनि भ्याएका छन् । यस्तो भनाइ—लेखाइ छ्यासमिसे अभिव्यक्ति हो । छ्यासमिसे बुद्धिले संस्कृति बिगार्छ । संस्कृतिलाई छ्यासमिसे बनाउनु सांस्कृतिक अराजकता हो । अराजकहरू जिम्मेवार हुँदैनन् । गैरजिम्मेवारीले कुनै काम कुरा सपार्दैनन्, बिगार्छन् मात्र । छ्यासमिसले अलमल र दुविधा बढाउँछ । दुविधाले विश्वास घटाउँछ । विश्वास घट्दै जाँदा संस्कृतिप्रति प्रेम, सद्भाव, आस्था, निष्ठा नाश हुन्छ । त्यसैले सांस्कृतिक अराजकता सांस्कृतिक अपराध पनि हो भन्न सकिन्छ ।

प्राचीनताका दृष्टिले देवी केन्द्रित पर्व नवदुर्गा हो, दसैँ हो । त्यसपछि राम—रावणको युद्धको समय हो । राम—रावण युद्धपछि मात्र विजया दशमी मानिएको भनाइ—लेखाइ पढ्न र सुन्न पाइन्छ । धार्मिक सम्प्रदायका दृष्टिले नवदुर्गा—दसैँ शाक्त पर्व हो भने विजया दशमी वैष्णव पर्व हो । सामाजिक दृष्टिले नवदुर्गा—दसैँ नारी शक्तिको सम्मानको पर्व हो भने विजया दशमी पितृसत्ता—पुरुष प्रधानताको पर्व हो । रोज्न पाइयो तर, छ्यासमिस गर्नु राम्रो होइन ।


तपार्इँ शाक्त हुनुस् या वैष्णव, नेपालमा दसैँ घर, दसैँ विदा, दसैँको टिका आदि भनिँदैआएको छ । दसैँ भन्ने, दसैँ मान्ने, दसैँ नै दसैँको विषयलाई मानिसहरू कुन्नि किन र कहिलेदेखि विजया दशमी बनाइयो ? यसको उत्तर कोसँग खोज्ने ?

सनातन संस्कृति सौम्य र सहिष्णु संस्कृति हो । यसमा कुनै प्रकारको कट्टरता छैन । यस संस्कृतिमा अनेकौँ कथा छन्, दृष्टान्त छन् । यी विभिन्न चाडपर्वका रूपमा उपस्थित हुन्छन् । यी पर्वहरू हामीमा गुण विशेषतामा वृद्धि, सुधार र परिवर्तनका गुणहरू गर्नका लागि महत्वपूर्ण हुन्छन्—छन् । सर्वविदितै छ कि पूर्वीय मान्यता अनुसार गुण तीन प्रकारका हुन्छन् । ती तीन गुण हुन्— सत्व, रज र तम । जुनसुकै धर्म—संस्कृतिका भए पनि मानिसहरूमा यी तीन गुणहरू हुन्छन् । सनातन धर्म—संस्कृतिका अनुयायीहरूमा पनि यही कुरा लागू हुन्छ । तर, सबैमा सबै गुण समान हुँदैन । कुनै मानिसमा सत्व, कुनैमा रज र कुनैमा तम गुणको अधिकता हुन्छ ।

यहाँ भनिएका गुण मानिसका प्रवत्ति हुन् । यी प्रवृत्ति मानिसका स्वभाव र व्यवहारमा अभिव्यक्त हुन्छ । सबैमा सबैमा सबैमा उस्तै र उति नै मात्रामा कुनै प्रवृत्ति हुँदैन । प्रवृत्ति वास्तवमा मानिसको मौलिक पहिचान जस्तो पनि हो । विभिन्न अभ्यास र प्रयासबाट मानिसले आप्mनो प्रवृत्तिमा परिवर्तन गर्न पनि सकिन्छ । पुराण, इतिहास र समसामयिक समाजमा पनि यस्तो भएको देखिन्छ ।

यहाँ त्रिगुणको चर्चाको प्रसङ्ग सांस्कृतिक पर्वको माध्यमबाट न्याय दाबी र स्थापित गर्ने प्रयत्न हो । हामीले मनाउने गरेका पर्वहरूलाई तत् तत् मर्म, मान्यता र मूल्यका आधारमा बुझेर मनाउन सक्दा न्याय स्थापित गर्न सहयोग पुग्नेछ भने त्यस विपरीत गर्दा अन्यथा हुनेछ । अहिले हामी नेपाली विशेषताको सनातन पर्व बडादसैँ मनाइरहेका छौँ । विजया दशमी र दसैँका बिचको भिन्नतालाई महसुस गरौँ, नेपाली मौलिकता तथा विशेषताको सम्मान तथा अवलम्बन गर्ने विषयमा दुविधा नपालौँ ।

दसैँको टिका थाप्ने—लगाउने तिथि दशमी हो । यो तिथिको नाम विजया दशमी हो । ‘विजया दशमी’ उहिले प्रागैतिहासिक समय— त्रेता युगमा भएको अयोध्याका राजा राम र लङ्काका राजा रावणका बिचमा भएको युद्धसँग सम्बन्धित विषय हो भन्ने विषय पढ्न पाइन्छ । अयोध्याका राजा रामले अप्mनी पत्नी सीतालाई अपहरण गरेका रावणको वध गरी लङ्कामाथि विजय प्राप्त गरेको दिनदेखि यो दशमीलाई विजया दशमी भनिएको हो । सनातन संस्कृतिमा रामलाई मर्यादा पुरुषोत्तमका रूपमा, भगवान् विष्णुको अवतारको रूपमा मान्ने गरिन्छ । यस कारण सबै सनातनीहरूका लागि रामको विजय महत्वपूर्ण विषय हो । यसमा हर्षबढाइँ गर्नु स्वाभाविक हो । नेपाल लगायत संसरका हिन्दुहरूले विजया दशमी मान्दछन् । रामको विजयलाई असत्यमाथि सत्यको विजयको रूपमा मान्ने मान्यता तथा प्रचलन छ । उत्तर भारतमा विजया दशमीको दिन रामलीला अन्तर्गत रावण वध र रावणको पुतला दहन गरिन्छ । अन्यत्र पनि रामलीला गरिने ठाउँहरूमा यस्तो गरिन्छ । यसको विशिष्ठ अर्थ र महत्व रहेको छ ।

रावधवध र लङ्का विजयको तिथि एउटै पर्दैमा बडादसैँ—दसैँ र विजया दशमी एउटै त हुँदैन र होइन, उस्तै पनि होइन । नेपालीहरूले मनाउने बडादसैँ—दसैँ र विजया दशमीलाई ‘हिन्दुहरूको महान् चाड’ भन्नु पनि सही हुँदैन, दसैँ नेपालीहरूको ठूलो वा महान् चाड हो । अन्यत्रभन्दा नेपालीहरूका बिचमा यसलाई मनाउने तरिका नै फरक छ ।

केही मानिसहरू विजया दशमी मात्र मान्दछन् । भारतमा यस दिन रावणको पुतला बनाएर हर्षोल्लासपूर्वक दहन गर्ने चलन छ । रामको युद्धको सन्दर्भलाई नश्लीय युद्धको रूपमा व्याख्या गरी आर्य र अनार्य बीचको युद्ध भएको आर्य रामद्वारा अनार्य रावण मारिएको हुनाले अनार्य भनिनेहरूले दसैँ मान्न नहुने तर्क पनि अघि सार्न भ्याएका छन् । रावण ब्राह्मण थिए र राम क्षत्रिय ! युद्धका दुई पक्ष यिनै हुन् । के ब्राह्मण अनार्य र क्षत्रिय आर्य हुन मिल्छ र ? दुई राज्यका शासकहरूको बिचमा भएको युद्ध, फेरि युद्धको विषय पनि नितान्तै फरक भएको विषयलाई बुझ पचाएको कुरा कसरी सही मान्न सकिन्छ र ? यस्ता अनेकौँ विषय ध्यान दिन आवश्यक छ, भ्रममा रहनु हुँदैन ।

महिषासुर र देवीको बीचमा भएको युद्धमा महिषासुरहरू मारिन्छन् । महिष भनेको राँगो हो । राँगोको रूपमा युद्ध गर्न आएको असुरलाई महिषासुर भनिएको छ । के यो पत्यार नलाग्ने विषय हो र ? राँगोबाट आक्रमण गराउन सकिँदैन र ? यसलाई असुरका तर्फबाट देवीलाई आक्रमण गर्न अघि सारिएको राँगो भनेर बुझ्न सकिँदैन र ? जहिले पनि युद्ध दुई शक्तिका बिचमा हुन्छ । त्यस्तो युद्धमा होमिएकाहरू कुन जातका मारिन्छन्, कुन जातकाले मार्छन् भन्ने कुरा सामान्य हो । जातीय युद्धमा मार्ने र मारिने जातको कुरा भिन्नै हो । चाहे देवीले गरेको युद्ध होस् वा रामले गरेको, यी युद्ध कुनै जातीय आधारमा भएका युद्ध होइनन् । त्यसैले यो दसैँलाई कुनै जातविशेषसँग जोड्न र छुट्याउन उचित देखिँदैन ।

दसैँलाई हामीले ‘बडादसैँ’ भन्दैआएका छौँ । यस विषयमा माथि नै चर्चा भइसकेको छ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ, यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आपूmभन्दा ठूला—बडासँग टिका–जमरा थापी आशिर्वाद लिने भएको हुनाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्ठतासँग सम्बन्ध राख्दछन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दूहरूको’ भनेर सीमित गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमी मात्र पनि होइन । यो ‘बडा दसैँ’ हो । नेपाली नसमाजले दसैँलाई कुनै खास युद्धको विजय दिवसका रूपमा स्वीकार गरेको छैन भन्ने विषयको चर्चा माथि नै गरिसकिएको छ ।

अन्यत्रका हिन्दुहरूमा हुँदै नभएको प्रचलन नेपाली समाज छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मिठोचोखो खाने, रमाउने, जेष्ठ—श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशिर्वाद थाप्ने हो; साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनःताजगी प्राप्त गर्नु हो । नारीशक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको ज्ञान आशिर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँ वास्तवमा ठूलो चाड हो ।

यसलाई ‘विजया दशमी’ मात्र भनेर हुँदैन; यो अनेकौँ ठूल्ठूला विशेषता समेटिएको, ठूलो महत्व दिइएको नेपाली मौलिकता र विशेषताको चाड हो । बडादसैँ मातृशक्तिको महिमा आत्मसात गरिएको ठूलो सांस्कृतिक पर्व हो । यसमा युद्ध, शान्ति, शक्ति पृथकीकरण र विस्तृत कार्यविभाजनको अनुपम उदाहरण समेटिएको छ ! यो पर्व ज्ञान, भक्ति, शक्ति र योगका लागि महत्वपूर्ण छ । शक्ति पृथकीकरण र कार्यविभाजनको महत्वबारे बुझ्न उपयोगी छ ।


सालै जो, ढिँढो पनि भातै हो भने जसरी बडादसैँ र विजया दशमी उही हो भन्ने एकोहोरो रटानले स्वयं यस पर्वप्रति न्याय गर्दैन भने अरुप्रति के न्याय गर्ला ? असत्यमाथि सत्यको विजयको प्रसङ्ग राम—रावण युद्ध र रामको विजयको प्रसङ्गमा पनि मेल खान्छ, तर सत्य युगदेखि चलिआएको मातृशक्तिको गुणगान र महत्वको पर्वलाई त्रेता युगको घटनासँग जोडेर बडादसैँ—दसैँलाई विजया दशमी भन्नु न्यायसङ्गत हुँदैन ।

(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार