मेलम्ची । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएको श्री जाल्पादेवी माध्यमिक विद्यालयको भवन नेपालहिल्फे बाइलंग्रीस ई.भी जर्मनीको आर्थिक सहयोग र जनहित नेपाल सिन्धुपाल्चोकको सहकार्यमा प्रवलिकरण गरिएको भवन आज हस्तान्तरण गरिएको छ । नेपालहिल्फे बाइलंग्रीस जर्मनीका प्रमुख राल्फ पेश्चल र मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले संयुक्त रुपमा भवनको उद्घाटन गर्दै आज हस्तान्तरण गरिएको हो । १ करोड २३ लाख लागतमा बनेको भवनमा १२ कोठा सहित २ वटा हल रहेको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भौतिक विकास सँगै गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा नगरपालिका सधैं सकारात्मक रहेको बताउनुभयो । विद्यालयको भवन मर्मत गर्ने विषयमा पूर्व प्रधानाध्यापक विष्णु गौतमको भूमिकाको चर्चा गर्दै नगर प्रमुख तामाङले आगामी दिनमा समेत विद्यायका लागी नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्कुल छेउमा गएको पहिरो ब्यबस्थापनका लागी नगरले सहयोग गर्ने समेत बताउनुभयो । प्रमुख तामाङले विद्यालय भवन मर्मतका लागी सहयोग गरेकोमा सहयोगी निकायलाई धन्यवाद दिदै निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो । शिक्षकको सरुवा नितिगत र नियम संगत हुने भएकाले सरुवा भयो भनेर चित्त दुखाउन नहुने उहाँको भनाई थियो । तामाङले प्राबिधिक शिक्षालय चलाउन सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा उपप्रमुख उमा प्रधानले भुकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माणमा सहयोग गरेकोमा सहयोगी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भौतिक रुपमा भवन गुणस्तरीय बनेसंगै शिक्षा पनि गुणस्तरीय हुने बिश्वास व्यक्त गर्नुभयो । उपप्रमुख प्रधानले आजको आवश्यकता गुणस्तरीय शिक्षा भएकाले सुन्दर भवनमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी नगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहेको प्रतिबद्धता जनाउनुभयो ।


शिक्षा क्षेत्रमा र विद्यालयमा देखिएका कमजोरीको दोष शिक्षक र नगरपालिकालाई मात्र थुपार्ने मात्रै नभएर सबै मिलेर सिंगो नगरपालिकाको शिक्षालाई माथी उठाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । एकले अर्कालाई दोष थुपारेर शिक्षाको विकास नहुने उहाँले जिकिर गर्नुभयो । कार्यक्रमका सभापति एवम् वडा नम्बर १२ का वडा अध्यक्ष गणेश तामाङले
आफु बोल्नमा नभएर काम गरेर देखाउने कुरामा विश्वास गर्ने मान्छे भएको बताउनुभयो । बोल्नेमात्रै र काम गर्नेको आलोचनाले मात्रै केहि नहुने भन्दै काम गरेर देखाउन पर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद दुलालले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय भवन निमार्णमा सहयोग गर्नेहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार