मेलम्ची । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विपद्जन्य निजि आवास पुनर्निर्माणमा देखिएको समग्र समस्याहरुको यथाशिघ्र समाधानका लागी सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । बाढी गएको ३ बर्ष वितिसक्दा समेत स्पष्ट कार्यविधि नहुँदा पिपितहरुले झन पिडा भोग्नुपरेको उल्लेख गर्दै उपप्रमुख प्रधानले तत्काल समस्या समाधान गर्नेगरी कार्यविधि बनाउन आग्रह गर्नुभयो ।
गृहमन्त्री रवि लामिछाने, कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साह, कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव दिपक खराल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल लगायतसँग भेटगर्दै उपप्रमुख प्रधानले बाढी तथा विभिन्न विपद्बाट पिडितहरुको समस्या समाधानका लागि जोडदार माग गर्नुभएको हो ।
भेटका क्रममा प्रधानले विपद्जन्य निजि आवास पुनर्निर्माणमा देखिएको समग्र समस्याहरुको यथाशिघ्र समाधान गर्नुपर्ने, क्षति भएका सार्वजनिक जग्गा जमिन, पुल , सडक निर्माणको लागि पहल गर्नुपर्ने ,मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित गुठीको समस्या समाधानमा ध्यान दिनुपर्ने, रासायनिक मलको अभाव, कोटा निर्धारण र कालो बजारी नियन्त्रण गर्नुपर्ने, जलवायु उत्थानशिल कृषि प्रणालिको विकास र प्रवर्द्धन गरिनुपर्ने लगायतको विषयमा ध्यानाकर्षण गराउनुभयो । भेटघाटका क्रममा गृहमन्त्री लामिछाने,कृषि मन्त्री साह लगायतले यसबारेमा अध्ययन गरेर छिट्टै निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाउनुभएको मेलम्ची नगरपालिकाका विपद् फोकल पर्सन सुजन दुलालले जानकारी दिनुभयो ।