सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा दिनप्रतिदिन दल बदल्ने प्रक्रिया चलिरहेको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको दिनानुदिन लर्को लाग्न थालेको हो । 

आज पनि पाँचपोखरी गाउँपालिका नेपाली काँग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष सहित दर्जनौँ नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस पूर्व जिल्ला कोषाध्यक्ष देवेन्द्र बहादुर खत्री, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६का इकाइ सभापति कमल तामाङ सहित विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको उम्मेदवार परिचय तथा चियापान कार्यक्रममा पाँचपोखरीका काँग्रेस, राप्रपा, माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्नेहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरबहादुर तामाङले नेकपा एमालेको लोकप्रियता दिनानुदिन बढेको बताउनुभयो । उहाँले नेकपा एमालेको लोकप्रियता देखेर काँग्रेस र माओवादीहरू आत्तिएको बताउनुभयो । उहाँले पाँचपोखरीमा नेकपा एमालेले जुनसुकै हालतमा जित्नुपर्ने दाबी गर्नुभयो । 

यस्तै कार्यक्रममा बोल्दै देवेन्द्र बहादुर खत्रीले काँग्रेस पार्टी व्यक्तिवादी पार्टी रहेका बताउनुभयो । काँग्रेस सर्वहारा वर्गको नभई पुँजीपति वर्गको पार्टी रहेको समेत उहाँले बताउनुभयो । उहाँले पाँचपोखरीमा नेकपा एमालेले जित्ने दाबी गर्नुभयो । 

योसँगै पाचपोखरीमा राजनीतिक माहौल थप तातेको छ । नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एमालेमा प्रवेश गरेपछि पाँचपोखरीमा एमालेलाई चुनाव जित्न सहज हुने देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय